बुटवल समाचारदाता
बुटवल, चैत १ गते । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीमा एक महिनाअघि निर्माण सम्पन्न भएको प्रदेश सभा भवन नेपालकै नमुना बनेको छ। प्रदेश सभाको बैठक भवन संरचना अरू प्रदेशको भन्दा फरक गरी नेपालकै नमुना बनाउने प्रयास गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले संसदीय मूल्यमान्यता र अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि यो प्रदेश सभा भवन उत्कृष्ट बनेको बताउनुभयो।
नेपालको वर्तमान संसदीय व्यवस्थाको भावनाअनुरूप आकारप्रकार र संरचनागत व्यवस्थापनका हिसाबले पनि देशकै उत्कृष्ट नमुना संसद् भवन भएको दाबी प्रदेश सभा सचिवालयले गरेको छ। प्रदेश सभा भवनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता आमनेसामने अर्थात् सम्मुखमा रहने गरी अर्ध चन्द्राकार ढाँचामा संरचना बनाइएका कारण सत्तापक्ष र विपक्षमा रहेका सबैलाई सबैले देख्न सक्ने गरी नक्साङ्कन गरी सोहीअनुरूप कुर्सीको व्यवस्थापन गरिएको छ। प्रदेश सभा सचिव पुनमगरले प्रदेश सभा नियमावली ०७९ को नियम ६ मा उल्लेख भएअनुसार मुख्यमन्त्री, उपसभामुख, मन्त्रीहरू, विपक्षी दलका नेता र प्रदेश सभा सदस्यहरू बस्ने क्रम मिलाइएको बताउनुभयो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभाको रोलक्रम सुहाउँदो ढङ्गले सभा हलको आन्तरिक संरचना तयार गरिएको र अर्ध चन्द्राकार संरचनामा बसाइ क्रम मिलाइएको पुनमगरले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सभाको यो आन्तरिक संरचना र बसाइ क्रम नेपालकै अरू प्रदेश सभाभन्दा फरक छ, त्यसैले यो नेपालकै नमुना प्रदेश सभा भवन हो।”
उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलहरूले सचिवालयलाई उपलब्ध गराएको प्रदेश सभा सदस्यहरूको नामावली र मर्यादाक्रमअनुसार क्रमागत रूपमा वरीयता कायम गरी सभामुखले निर्धारण गरेको स्थान र क्रममा बस्ने व्यवस्था गरिएको बताउनुभयो। प्रदेश सभा सचिव पुनमगरले विश्वका प्रजातान्त्रिक मुलुकमा गरिएका संसदीय अभ्यासको अध्ययन गरेर लुम्बिनी प्रदेश सभाको संसद् हल निर्माण गरिएको र निर्माणका क्रममा विश्वकै उत्कृष्ठ विधि र पद्धति अपनाइएको बताउनुभयो।
प्रदेश सभामा सभामुखको दायाँपट्टि सत्तापक्ष र बायाँपट्टि प्रतिपक्ष बस्ने व्यवस्था गरिएको छ। प्रदेश सभा नियमावली ०७९ को नियम ६ मा उल्लेख भएअनुसार प्रदेश सभाका प्रत्येक सदस्यले सभामुखद्वारा निर्धारित क्रम र स्थानमा आसनग्रहण गर्नुपर्ने व्यवस्था छ। साथै अपाङ्गता भएकाको हकमा सभामुखले निश्चित स्थान र क्रम तोकी निजको साथमा एक जना सहयोगीसमेतलाई बस्न अनुमति दिन सक्ने व्यवस्था रहेको छ।
प्रदेश सभामा विशिष्ट आमन्त्रित व्यक्तिका लागि विशिष्ट कक्ष, आमजनताका लागि दर्शक कक्ष, पत्रकार कक्ष, प्राविधिक कक्षलगायतका संरचना पनि तयार गरिएको छ। नेपालको संविधानको धारा १९५ को उपधारा २ मा व्यवस्था भएबमोजिम प्रदेश सभाको कामकारबाही सञ्चालन र व्यवस्थापनका लागि सचिवालयको स्थापना तथा सञ्चालन गर्ने व्यवस्था छ।
उक्त सचिवालय सञ्चालन तथा व्यवस्थापनका लागि लुम्बिनी ऐन सङ्ग्रह खण्ड १ मा व्यवस्था भएबमोजिम सभामुखको नेतृत्वमा एक समिति गठन हुने व्यवस्था रहेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ।