• १५ वैशाख २०८१, शनिबार

स्ववियु निर्वाचन प्रक्रिया तीव्र

blog

काठमाडौँ, चैत १ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । उनीहरूले आन्तरिक रूपमा आफ्नो तयारीलाई तीव्र पारे पनि यस पटक विगतको चुनावमा जस्तो सार्वजनिक रूपमा रौनकता देखिएको छैन । यस पटक त्रिभुवन विश्वविद्यालयले आचारसंहिता बनाएर निर्वाचनको प्रचारप्रसारका लागि भित्तेलेखन, पर्चा वितरणलगायतका गतिविधिमा रोक लगाएको छ भने उमेर हदको व्यवस्था गरिएको छ । 

यही चैत ५ गते हुने निर्वाचन प्रचारप्रसारका लागि चैत २ गतेसम्मको मात्रै समय तोकिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सम्बन्धित क्याम्पसले पनि निर्वाचनका प्रतिस्पर्धी उम्मेदवारको परिचय गराइदिने व्यवस्था गरिएको बताउनुभयो ।

यस पटक स्ववियु निर्वाचनमा पनि सरकार निर्माणमा गठबन्धन गरेका पार्टीको शीर्ष नेतृत्वको सिको गर्दै विद्यार्थी सङ्गठनहरू गठबन्धन नै गरेर अघि बढेका छन् । गठबन्धनमा विशेषगरी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट 

अनेरास्ववियु (क्रान्तिकारी) तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भागबन्डा गरेका छन् ।  विद्यार्थी सङ्गठनले केन्द्रीय तहमा बैठक बसेर तालमेलको निर्णय गरे पनि क्याम्पस तहमा सक्रिय विद्यार्थीबीच मन नमिल्दा केही क्याम्पसमा भने गठबन्धनको अन्तिम निर्णय हुन सकेको छैन। एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले उपत्यकाका अधिकांश क्याम्पसमा संयुक्त प्यानल बनाउने निर्णय भए पनि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलगायतमा भने छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन प्रतिस्पर्धा गर्न लागिएको जानकारी दिनुभयो। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले भने अधिकांश क्याम्पसमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको सङ्गठनका महासचिव समिक बडालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा धेरै सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनुपर्ने हो तर धेरैको ध्यान आङ्गिक क्याम्पसतर्फ रहेको छ। 

विद्यार्थी भर्नासम्बन्धी विवादका कारण आधा दर्जन आङ्गिक क्याम्पसको निर्वाचन अनिश्चित बनेको छ। उपत्यकाको त्रिचन्द्र क्याम्पस तथा रत्नराज्यलक्ष्मी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन भने पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत साइन्स क्याम्पसलगायतमा पनि समस्या छ। एउटा विवाद साम्य हुनेबित्तिकै अर्को विवाद झिकेर निर्वाचन बिथोल्ने प्रयास भएका कारण यी क्याम्पसमा समस्या थपिएको त्रिविले जनाएको छ। 

उपत्यका बाहिर पनि पोखराको पृथ्वीनारायण क्याम्पससहित अन्यमा पनि यस्तै विवादका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको विद्यार्थी 

कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले बताउनुभयो। 

त्रिविमा २०१८ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ। त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो। स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।