• १२ वैशाख २०८१, बुधबार

लिगमा फ्रेन्ड्सको पहिलो जित

blog

दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै फ्रेन्ड्स र जावलाखेलका खेलाडी । तस्बिरहरु : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो ।


ललितपुर डर्बीमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले गोल गर्नुभयो । जावलाखेलका फोडे फोफानाले सान्त्वना गोल फर्काएनुभयो ।


राफिकले १९औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको उत्साह जगाउनुभयो । ४०औं मिनेटमा प्रकाशले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८७औं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।


त्यसपछि थप गोल नहुँदा फ्रेन्ड्स सवजयी भयो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । कप्तान सिमान्त थापा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो । लिगमा पहिलो जितसँगै फ्रेन्ड्सले चार खेलबाट चारनै अंक बनाएको छ । पहिलो हार खेपेको जावलाखेलको समान खेलबाट सात अंक छ । 

यसैगरी एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको अर्को खेलमा शीर्षस्थानको चर्च ब्वाइज युनाटेड र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपगोग गर्न सकेनन् ।

इन्जुरी समयमा संकटाका मनिषडाँगी पेनाल्टीमा चुक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । लिगमा अपराजित यात्रा कायम राखेको नवप्रवेशी चर्च ब्वाईजको यो पहिलो बराबरी हो । बराबरीसँगै चार खेलबाट १० अंक बनाएको चर्च ब्वाईज शीर्षस्थानमा यथावत छ । संकटाले समान खेलबाट पाँच अंक बनाएको छ । 


यस्तै दशरथ रंगशालामा मंगलबार नै भएको अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलले हराएको छ । मछिन्द्रको जितमा दुवै गोल आफिज ओलावालेले गर्नुभयो ।

पुलिसका अन्जन राईले सान्त्वना गोल गर्नुभयो । मच्छिन्द्रको यो पहिलो जित हो । जितसँगै मछिन्द्रले चार खेलबाट चार अंक बनाएको छ । पुलिसको भने यो  लगातार चौथो हार हो । लिगमा मंगलबार देखि चौथो चरणको खेल सुरु भएको हो ।


फागुन १९ गतेबाट सुरु भएको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने लिगको अन्तिममा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख, उदयीमान् खेलाडीलाई एक लाख, प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’ लाई  १० हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।