• १३ मंसिर २०८१, बिहिबार

मगन्तेबाट पर्यटकलाई हैरानी

blog

नारद कोहार

कपिलवस्तु, फागुन ३० गते । भारतीय नम्बर प्लेटका दुईवटा बसमा ७६ जना भियतनामी बुद्धमार्गी तीर्थयात्री आइतबार भगवान् बुद्धको जन्मस्थल लुम्बिनी हुँदै तिलौराकोट आउँदै थिए। तिलौराकोट गेटमा बस पुग्नेबित्तिकै बालबालिकाले तीर्थयात्री पर्यटकलाई घेरे। बसबाट ओर्लिन नपाउँदै ती बालबालिकाले हात फैलाउँदै पैसा र सामान माग्न सुरु गरे। ‘गिभ मि मनी’ भन्दै हात फैलाए भने कतिपय बालबालिकाले पेट सुमसुम्याएर मुखमा हात लिँदै भोक लाग्यो पैसा देऊ भन्न थाले। 

तिलौराकोट दरबारभित्र पूजा गरी फर्केका पर्यटकसँग पनि मगन्ते बालबालिकाले यसरी नै पैसा मागेर हैरान बनाउने गरेका छन्। यस क्षेत्रमा खटिएका आधा दर्जन सुरक्षा गार्डहरू सो दृश्य देखेर टुलुटुलु हेर्ने मात्र गर्छन्। यहाँका मगन्ते बालबालिकालाई नियन्त्रण गर्न कसैले चासो दिएको छैन। सम्बन्धित निकायले चाँसो नदिँदा मगन्ते बालबालिकाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। कपिलवस्तु नगरपालिकाभित्र रहेका बुद्धस्थलहरूमा मगन्ते बालबालिकाले पैसा र सामान माग्ने गरेको दृश्य सामान्य जस्तै बनेको छ। प्राचीन कपिलवस्तुस्थित बुद्धस्थलको अवलोकन गर्न आएका पर्यटक देख्नेबित्तिकै हुलका हुल बालबालिकाले घेर्ने गर्छन्। 

राजा शुद्धोधनको राजदरबार एवं बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोट, बुद्धले बुधत्व प्राप्त गरेपछि आमा बुवालाई भेटेको ठाउँ कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा क्षेत्रमा पर्यटक बोकेको बस देख्नेबित्तिकै मगन्ते बालबालिका दौडिँदै वरिपरि झुम्मिने गर्छन्। 

यसले पर्यटकलाई समेत अफ्ठ्यारो र असहज हुने गरेको छ। बाटो छेकेरै पैसा मागेर सास्ती दिने गरिएकाले पर्यटकको हेर्ने  दृष्टिकोणमा समेत नकारात्मक असर परेको स्थानीय व्यवसायी दिनेश रायमाझीले बताउनुभयो। लुम्बिनी विकास कोषले तिलौराकोट, कुदान, निग्लिहवालगायतका स्थानमा सुरक्षा गार्ड खटाए पनि मगन्ते बालबालिका नियन्त्रणका सम्बन्धमा कुनै चासो नलिएको उहाँले बताउनुभयो। लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यले मगन्ते बालबालिकाका कारण विदेशी पर्यटक तथा तीर्थयात्रीमाझ नराम्रो सन्देश गएको बताउनुहुन्छ। यस्ता कार्यको नियन्त्रणका लागि कोषल ठोस कदम चाल्ने समेत उहाँले बताउनुभयो। 

बुद्धस्थलमा पैसा मागेर पर्यटकलाई हैरान पार्ने गुनासोलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि पहल गर्नेछौँ, उहाँले भन्नुभयो, “तिलौराकोटस्थित शिवगढ गाउँका सम्पूर्ण घरको मुआब्जा दिइसकेको र अब छिट्टै नै सूचना जारी गरी घर खाली गराइनेछ। सोही गाउँका बालबालिका मगन्ते बनेर तिलौराकोट क्षेत्रमा आउने गरेको बताइएको छ। यहाँ वार्षिक ५० देखि ६० हजारको हराहारीमा विभिन्न देशका पर्यटक आउने गरेका छन्।