अमरराज नहर्की
तनहुँ, फागुन २९ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित भएका छन् । विकास प्रेमी राष्ट्र नेता देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्य प्राथमिकतामा पर्ने विश्वासमा जिल्लावासी रहेका छन् ।
व्यास नगरपालिका–८ रिस्तीका रामप्रसाद मिश्रले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सबै स्थानीय बासिन्दा उत्साहित भएको बताउनुभयो । पौडेल निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्ति भएको हुनाले संविधान र गणतन्त्रको रक्षामा योगदान पुग्ने विश्वास मिश्रको छ ।
यसैगरी, अर्का स्थानीयवासी राजु गुरुङले यहाँको ढुङ्गो, माटोमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासी हर्षित भएको बताउनुभयो ।
नेता पौडेलले संविधानको अक्षरशः पालना गर्ने भन्दै आएको संविधान अनुसार देश चल्नका लागि सहज हुने गुरुङ बताउनुहुन्छ । ‘‘यहाँको बासिन्दामा उत्साह, उमङ्ग धेरै नै छाएको छ विकासको निर्माणमा अझ धेरै टेवा पुग्छ भन्ने विश्वास लिएको छ। देशलाई गलत बाटोतर्फ जानबाट जोगाउनु हुन्छ भन्ने विश्वास लागेको छ ।’’
त्यस्तै, व्यास नगरपालिका तनहुँका प्रमुख वैकुण्ठ न्यौपानेले आफ्नो पालिकाकामा जन्मिएको एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यता सधैँ लडिरहने व्यक्ति भएको तनहुँवासी अत्यन्त खुसी भएको बताउनुभयो । सक्रिय राजनीतिमा कार्यकारी भूमिकामा अपेक्षा गर्नु भएको थियो त्यहाँबाट कामहरू जति हुने अपेक्षा गरेका थियौँ त्योबाट अलिकति विश्राम भएको जस्तो लागे पनि राष्ट्र प्रमुख हुने अवसर आइरहेकाले गौरवको महसुस भएको बताउनुभयो ।
‘‘निष्ठाको राजनीतिले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर हुन्छ र निष्ठाको मूल्य र मान्यताको राजनीको महत्त्व हुने र निरन्तरता प्राप्त भएको अनुभूति भएको छ’’, नगर प्रमुख न्यौपानेले भन्नुभयो । न्यौपानेले बसौँ जेल परेको, लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बताउनुभयो ।
नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले तनहुँ गौरवान्वित भएको बताउनुभयो । राजनीतिको अविरल यात्री तथा निष्ठावान् नेता, राष्ट्र र राष्ट्रियता प्रति अठान र निष्ठावान् नेता भएकाले जिल्लावासी खुसी भएको हड्खलेले जानकारी दिनुभयो । संविधानको रक्षा गर्ने आन्दोलनको नेतृत्व वरिष्ठ नेताले नै लिएको र एक खरिएको कर्मठ राष्ट्रवादी नेता भएकाले संविधानको रक्षा हुने बताउनुभयो ।
प्रधानमन्त्री बन्नुहुन्छ भनेर भोट मागिए पनि उहाँ बन्न नसक्दा जिल्लावासी निराशा बनेकोमा अब राष्ट्रपति जिल्लावासीमा खुसीयाली छाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताउनुभयो ।
व्यास नगरपालिका–२ अमरापुरीस्थित नेता पौडेलको घरसँग रहनु भएका सुबेदार मेजर सूर्यबहादुर थापाले राष्ट्रपतिले तनहुँ जिल्लालाई माता र पिता सम्झेर सम्मान गर्नुपर्ने र तनहुँका ऐतिहासिक तथा पर्यटकीय स्थलको विकास तथा युवालाई रोजगारीमा सामेल गराउने कार्यमा टेवा दिनु पर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले तनहुँको साबिक रिस्ति गाविस हालको व्यास नगरपालिका–८ बाहुन पोखरामा जन्मनु भएको थियो । राष्ट्रपतिको जन्मघर आफ्नो नाममा नपरेपछि नेता पौडेले जन्मघर छोड्नु भएको र बाढी र पहिरो आउँदा घर भत्किएको स्थानीय बासिन्दा तथा वडा सदस्य रामप्रसाद मिश्रले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकोले त्यसको पुनर्निर्माण गरिनु पर्ने स्थानीय बासिन्दा बताउनुभयो ।