• ७ मंसिर २०८१, शुक्रबार

जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ

blog

काठमाडौं, फागुन २९ गते । जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने स्वास्थ्यकर्मीहरूको दाबी छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नुभएको हो । उहाँका अनुसार नेपालमा वार्षिक एक हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ । एक जनाको शरीरमा दुई वटा मिर्गौला प्रयोग गर्न सकिन्छ । 

वार्षिक मस्तिष्क मृत्यु भएका मानिसको परिवारले अङ्ग प्रयोग गर्ने अनुमति दिए मात्रै एक वर्षमा दुई हजार जनाले मिर्गौला प्रत्यारोपणको अवसर पाउने उहाँ बताउनुहुन्छ । मस्तिष्क मृत्यु भएका सबैले अङ्गदान गर्ने हो भने धेरै जना डायलिसिसमा पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने उहाँको भनाइ छ ।

प्रत्येक वर्ष तीन हजारको हाराहारीमा नयाँ मिर्गौलाका बिरामी थपिने गर्दछन् । मस्तिष्क मृत्यु भएकाहरुको मिर्गौला प्रत्यारोपणको अनुमति पाएमा डायलिसिसमा बसेका दुई तिहाइले मिर्गौला पाउने र सरकारको आर्थिक भार कम हुने डा. श्रेष्ठको बुझाइ छ । 

मस्तिष्क मृत्युसम्बन्धी ऐन, नियमावली र स्वास्थ्य मन्त्रालयको सहयोग हुँदा हुँदै पनि जनचेतनाको अभावले मस्तिष्क मृत्युबाट अङ्ग दान गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको डा.श्रेष्ठको बताउनुहुन्छ । 

विदेशमा ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्युबाट हुने गरेको छ । विदेशमा सडक दुर्घटना कम भए पनि जतिको मस्तिष्क मृत्यु हुन्छ सबै अङ्गहरू प्रयोग हुने उहाँ बताउनुहुन्छ । तर नेपालमा ६ वर्षको अन्तरालमा केन्द्रले हालसम्म जम्मा पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनामा मिर्गौला र तीन जनाको कलेजो गरी १३ जनामा अङ्ग प्रत्यारोपण गरेको श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रमा २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएको थियो ।

कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले अङ्गदानसम्बन्धी आम मानिसमा जनचेतना अभाव र स्वास्थ्य संस्थाले कार्यक्रमको संवेदनशीलता नबुझिदिँदा खरानी भएर जाने पुन प्रयोग हुन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अस्पताल अस्पतालबीचको समन्वयन नहुँदा मस्तिष्क मृत्यु भएका घटना समयमै पत्ता लगाउन सहज छैन ।  पत्ता लागिहाल्यो भने पनि परिवारका सदस्यहरू अङ्गदान गर्न मान्दैनन् त्यसैले अहिले ठूलो स्रोत खेर गएको छ ।”

मन्त्रालयका सचिव डा.रोशन पोखरेले मस्तिष्क मृत्यु भएका मानिसको खेर जाने अङ्गले अरू कसैले नयाँ जीवन पाउँछन् भन्ने विषयमा जबसम्म स्वास्थ्यकर्मी आम मानिसमा जनचेतनाको विकास हुँदैन तबसम्म यो कार्यक्रमलाई सफल बनाउन नसकिने बताउनुहुन्छ ।

मस्तिष्क मृत्यु हुने व्यक्तिले आफू जीवित हुँदा मृत्युपश्चात् अङ्ग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्युपश्चात् निजको शरीरबाट अङ्ग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु भनेको के हो ?
डा. श्रेष्ठका अनुसार मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा पुनः काममा आउन नसक्ने गरी अपरिवर्तनीय क्षति भएको अवस्था नै मस्तिष्क मृत्यु भनिन्छ । चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन नसकिने चिकित्सक बताउँछन् ।

चिकित्सकहरूका अनुसार टाउकोको गहिरो चोट, मस्तिष्क घात (स्ट्रोक), मस्तिष्क रक्तस्राव (ब्रेन हेमरेज), ब्रेन ट्युमरका कारण मस्तिष्क मृत्यु हुनसक्छ ।

आठ जनाले पाउँछन् नयाँ जीवन
मस्तिष्क मृत्यु पछि केही समय शरीरका केही अङ्गहरूले काम गरिरहेका हुन्छन् । एक जना मृतकको शरीरबाट आठ जनाले नयाँ जीवन पाउन सक्ने श्रेष्ठको भनाइ छ । डा.श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको केही समयसम्म पनि मिर्गौला, फोक्सो, कलेजो, छाला, प्याङक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहन्छ ।

मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अङ्गले काम गर्न नछाड्दै तिनलाई अरूको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्युपछि मुटु, आँखा, फोक्सो, प्याङक्रियाज, मिर्गौला, सानो आन्द्रा, कलेजो, छाला लगायत अन्य अङ्ग दान गर्न सकिन्छ ।

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका मानिसबाट जतिसक्दो जाडो अङ्ग निकाल्नले आइस बक्समा निकाल्ने । मिर्गौलाको हकमा २४ घण्टाभित्र, कलेजोको हकमा ८ देखि १० भित्र र मुटु र फोक्सोको हकमा भने ४ देखि ६ भित्र प्रत्यारोपण गरी सक्नुपर्छ ।

अङ्गदान कस कसले गर्न पाउँछन्
नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार परिवारको सदस्य वा नजिकका नातेदारबाट मिर्गौला दान लिन वा दिन सकिने व्यवस्था छ । ऐनले परिवारको सदस्यको रूपमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरालाई मानिएको छ ।

नजिकका नातेदारले मात्र अङ्ग दिन पाउने प्रावधान अनुसार सौतेनी बाबु, सौतेनी आमा, ठूलोबाबु, ठूलीआमा, काका, काकी, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई नजिकैको नातेदार मानेको छ ।

नजिकका नातेदारले मात्र अङ्गदान दिन पाउने प्रावधान भएकाले कानुनविपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र पाँच लाख जरिवाना हुने प्रावधान छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।