• १३ साउन २०८१, आइतबार

सिन्धुली बस दुर्घटना : मृतक छमध्ये दुई जनाको सनाखत

blog

दुर्घटनाग्रस्त बस ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, फागुन २८ गते। मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटना मृत्यु भएका छमध्ये दुई जनाको सनाखत भएको छ।

सनाखत भएकामा ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–६ निवासी बसका सहचालक २५ वर्षीय देवबहादुर सार्की र सिद्धिचरण नगरपालिका–३ निवासी अन्दाजी ३० वर्षीय पेसल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बाँकी चार जनाको सनाखत गर्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘बाँकी मृतकको सनाखत गर्न उनीहरूको आफन्तको खोजी भइरहेको छ।’’ 

उहाँका अनुसार ओखलढुङ्गाको रुम्जाटरबाट काठमाडौं हिँडेको बा २ ख ६५९६ नम्बरको बस आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको हो। तीन पुरुष र तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो। बसमा चालकसहित ३५ जना सवारमध्ये २९ जना घाइते भएका छन्।

घाइतेमध्ये गम्भीर घाइते भएका आठ जनालाई घटनास्थलबाटै उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैं पठाइएको छ। बाँकी घाइतेलाई उपचारका लागि खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा पुर्‍याइएको छ। 

खुर्कोटमा घाइतेका आफन्त र स्थानीयले उपचारमा ढिलाइ गरेको भन्दै बीपी राजमार्ग बिहान ११ बजेदेखि अवरुद्ध गरेका थिए। खुर्कोटबाट गम्भीर घाइते भएका थप सात जनालाई पनि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाएपछि तीन घण्टापछि अवरुद्ध बीपी राजमार्ग खुलेको प्रहरीले जनाएको छ।