• २४ पुस २०८१, बुधबार

वैकल्पिक सडक निर्माण कार्य रोकियो

blog

बल्दे अम्कोट वैकल्पिक मार्गको निर्माण कार्य रोकियो । तस्विर : शेरबहादुर सार्की/बाजुरा

शेरबहादुर सार्की

बाजुरा, फागुन २७ गते । बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्यको काम रोकिएको छ । बूढीगङ्गा नगरपालिका-२ को कन्र्सन बाजुरा देखि अम्कोट द्धवारीसम्मको झण्डै ३ किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो ।

सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माण कार्यको काम सुरु गरिएको भएपनि अहिले अम्कोटका स्थानीयले विवाद सुरु गरेपछि निर्माण कार्य रोकिएको हो ।

सडक डिभिजन कार्यालय अछामका कार्यालय दिवस बस्नेतले, सडक डिभिजन कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय बाजुरा, बूढीगङ्गा र बडिमालिका नगरपालिका स्थानीय सरकार र अम्कोटबासीको सहमतिमा बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्य सुरु गरिएको बताउनुभयो । उहाँले बर्खाको समय साँफे मार्तडी सडकअन्तर्गत पर्ने अम्कोट द्धवारी सडकमा पहिरो गएर सडक अस्तव्यस्त हुने गरेकोले स्थानीयको सहमतिबाट सो वैकल्पिक सडक निर्माण कार्य सुरु गरिएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय अछामले स्काइभेटरमार्फत झण्डै एक किलोमिटर सडक निर्माण गरिएको भएपनि पछि अम्कोटका स्थानीयले विवादमा गरेपछि काम रोकिएको बस्नेतले बताउनुभयो । यता अम्कोटका स्थानीले भने वर्ष वर्षै अम्कोटको तलमाथिबाट सडक खन्दै गएको र त्यसैकै कारण पहिरो लाग्ने गरेकोले बस्ती व्यवस्थापन नगर्दासम्म गाउँबाट सडक लिन नदिने बताएका छन् ।

बूढीगङ्गा नगरपालिका –१ अम्कोटका लक्षीराम पाध्यायले, यहाँका स्थानीय र सरोकारवालबीच पहिले यो बस्ती पुरैलाई अन्य ठाउँमा व्यवस्थापन गर्ने भनेर गाउँबाट सडक लिनेगरी सहमति भएको तर अहिलेसम्म बस्ती व्यवस्थापन नभएकोले सडक निर्माणको काम रोकिएको बताउनुभयो । उहाँले जबसम्म अम्कोटका १०६ जना घरपरिवारको बस्ती व्यवस्थापन हुँदैन तबसम्म यो वैकल्पिक मार्ग निर्माणको काम रोकिने बताउनुभयो ।

यसअघि अम्कोट बल्दे र द्धवारी सडकमा पहिरोले भत्किएपछि सडक डिभिजन कार्यालय अछामले प्रत्येक वर्षमा तलबाट माथि अस्थायीरुपमा सडक निर्माण गर्दै सवारी साधान सुचारु गर्दै आएको छ ।

सडक डिभिजनले यसरी प्रत्येक वर्षमा तलबाट सडक भत्किँदै जाने सवारीसाधन सुचारु गर्न माथिबाट सडक निर्माण गर्दै जाँदा अहिले अम्कोटको गाउँमै पहिरो पुगेको पाध्यायले बताउनुभयो । २०७८-०७९ आर्थिक वर्षमै अम्कोटका स्थानीयलाई बस्ती व्यवस्थापनको कार्यक्रम सुरु गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

बर्खाको समय साँफे-मार्तडीअन्तर्गत पर्ने अम्कोट द्धवारी सडकमा पहिरोले अवरुद्ध हुनेभएपछि सहजताका लागि बल्दे अम्कोट वैकल्पिक मार्ग निर्माण गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख पुष्कर खड्काले अम्कोटका स्थानीयहरूलाई बस्ती व्यवस्थापन गर्नका लागि एक परिवारलाई झण्डै पाँच लाख रुपियाँ घर निर्माणका लागि रकम दिएको बताउनुभयो । उहाँले घर निर्माणका लागि त्यहाँका स्थानीय पहिलो किस्ता ७५ हजार लिएको र प्राविधिकहरूले दिएको स्टिमेट अनुसार घर निर्माण नगरेकोले दोस्रो किस्ता रकम रोकिएको बताउनुभयो ।