• ९ पुस २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

blog

दुर्घटनामा बालकको मृत्यु भएपछि सडक बन्द गरेर प्रदर्शन गर्दै स्थानीय ।

जनार्जन खत्री

सर्लाही, फागुन २६ गते। सर्लाहीको हरिवनमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएपछि स्थानीयले शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर कारबाही चलाउन र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग राख्दै स्थानीयले हरिवन ११ स्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर एक घण्टा सवारी आवागमन ठप्प पारेका हुन्। प्रहरीले आक्रोशित स्थानीयलाई सम्झाइबुझाई गरी केहीबेर अघिबाट राजमार्ग खुलाएको छ। 

आन्दोलित स्थानीय, प्रहरी र ट्याक्टर धनीबीच अहिले इलाका प्रहरी कार्यालय हरिवनमा वार्ता चलिरहेको छ। बिहीबार दिउँसो हरिवन नगरपालिका ५ स्थित भित्री सडकमा ना ६ त ८४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय सिंहेश्वर शर्माको छोरा १२ वर्षीय ओमशङ्कर शर्माको मृत्यु भएको थियो। 

बालकलाई घटनास्थलबाट उपचारका लागि नमुना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन्। 

पीडितले बालकको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले उपचारका लागि भन्दै अस्पताल ल्याएर चालकलाई भगाउने काम गरेको आन्दोलित स्थानीयको आरोप छ। मृतक बालकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि शुक्रबार बिहान परिवारले बुझेर ल्याएका छन्। 

प्रहरीले फरार रहेका ट्याक्टरका चालकको खोजी भइरहेको र ट्याक्टर धनी सम्पर्कमै रहेको जनाएको छ। इलाका प्रहरी कार्यालय हरिवनमा वार्ता चलिरहँदा मृतक बालकको शव प्रहरी कार्यालय अगाडि ल्याएर राखिएको छ।