• ११ जेठ २०८१, शुक्रबार

बालबालिकाका प्रेरणा डा. रुइत

blog

भाइबहिनीहरू,  तिमीहरूले डा. सन्दुक रुइतको नाम सुनेका छौ होला  । कसैले त देखेको पनि होला । अझ कसैले त उहाँसँग आँखाको उपचार पनि गराएको होला । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला व्यक्ति हुनुहुन्छ ।

मोतीबिन्दुका कारण ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ ।

विश्वविख्यात सरल र कम लागतको मोतीबिन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता उहाँले आफ्नै हातले एक लाखभन्दा बढीको मोतीबिन्दुको शल्यक्रिया गरिसक्नुभएको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा जन्मिएका डा. रुइतलाई गड अफ साइट भनेर चिनिन्छ ।

तिमीहरुलाई थाहा छ ?

डा. रुइतलाई १३ करोड रुपियाँ (१० लाख अमेरिकी डलर) हाराहारीको विश्वकै प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने भएको छ । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उहाँलाई ‘इसा अबार्ड’बाट सम्मानित गर्न लागेको हो । अवार्ड मानवताको सेवाका लागि डा. रुइतलाई प्रदान गरिएसँगै नेपालमा पनि यस अवार्डको चर्चा एकाएक बढेको छ । विश्व स्वास्थ्य सङ्गठनसमेत अवार्ड रेसमा हुँदा डा. रुइत विजेता हुनुले अवार्डको महìव झनै बढाएको छ । इसा अवार्ड पाउने डा. रुइत दक्षिण एसियालीबाट तेस्रो हुनुहुन्छ ।

इसा अवार्ड पहिलो पटक सन् २०१३ मा प्रदान गरिएको थियो । पहिलो अवार्ड पनि चिकित्सकलाई नै प्रदान गरिएको थियो । मलेसियाकी डा. जमिला मोहमदले विपत् व्यवस्थापन र राहत कोटाबाट प्रथम अवार्ड पाउनुभएको थियो ।

नेत्र चिकित्सामै ३५ वर्ष व्यतित गरिसक्नुभएका डा. रुइतले प्राप्त गर्ने यो पुरस्कारले आमनेपालीहरूको आत्मसम्मान र प्रतिष्ठालाई बढाउन सफल पारेको छ । इसा अवार्डका लागि १४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए तर पुरस्कारका लागि डा. रुइतले भने कुनै पनि मनोनयन दर्ता गराउनुभएको थिएन । जुरी कमिटी (निर्णायक)ले नै रुइतले आँखा उपचारमा पु¥याएको योगदानलाई महìव दिँदै छनोट चरणमा छवटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराएको थियो ।

नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत डा. रुइतलाई यो पुरस्कार प्रदान गरिएको हो । अन्धोपन निवारण गर्न नेपालबाहिर पनि उहाँको नेतृत्व टिमले सीपको विकास गरेको थियो । यो पुरस्कार अन्तर्राष्ट्रिय योगदान नगरिकन दिइँदैन । पुरस्कार नै अन्तर्राष्ट्रिय रूपमा प्रभाव पारेको भएर प्रदान गरिएको हो ।

बालबालिकाका प्रेरणा

विभिन्न समयमा आ–आफ्नो क्षेत्रमा मानव जातिका लागि अमूल्य योगदान दिएका व्यक्तित्वका सङ्घर्षको कथाले बालबालिकालाई प्रेरणा प्रदान गर्छ ।

नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र डा. रुइतले नेपालको हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मेर मानव कल्याणका क्षेत्रमा धेरै योगदान पु¥याउनुभएको छ । लाखौँको दृष्टि फर्काइदिनुभएको छ,  लाखौंँलाई संसार देखाइदिनुभएको छ । जसमा बालबालिकाको सङ्ख्या पनि अधिक छ । ताप्लेजुङको विकट एवं दुर्गम भेगमा जन्मिएका उहाँ आज कसरी लाखौँको आस्थाको धरोहर हुनुभयो बालबालिकाका लागि प्रेरणादायी कुरा हो ।

अभिभावक र शिक्षकले पनि बालबालिकालाई डा. रुइत चिनाउनुपर्छ । उहाँको सङ्घर्ष र सफलताको कथा सुनाउने र उहाँको दृष्टान्त पेस गर्दै कसरी अरूको उपकार र भलाइका लागि आफुलाई समर्पित गर्ने भन्ने कुरामा प्रेरित गर्नुपर्छ । भौगोलिक रूपमा विकट हिमाली क्षेत्रको मध्यमवर्गीय परिवारमा जन्मिएका सन्दुक रुइतले बाल्यकालमा अभिभावकबाट टाढिएर अध्ययन गर्नुभएको थियो । अध्ययन गर्ने स्थानभन्दा घर टाढा भएकाले चार÷पाँच वर्षसम्म पनि आफ्ना अभिभावकसँग भेट नगरी अध्ययन गर्नुभएका उहाँ आफ्नो लगनशीलता र मेहनतले गर्दा डाक्टरी पढ्न सफल हुनुभयो । नेत्र चिकित्सक  डा. रुइतले संसारकै सस्तो पद्धतिबाट मोतीबिन्दुको उपचार गर्ने नवीन पद्धति पत्ता लगाउनुभयो । उहाँको सङ्घर्ष र सफलताबाट हामीले मेहनत परिश्रम गर्नुपर्छ भन्ने प्रेरणा पाउन सकिन्छ ।  

 पुरस्कारै पुरस्कार

सन् २००६ मा रमन म्यागसेसे पुरस्कारबाट पुरस्कृत हुँदा पनि डा. रुइतको चर्चा चुलिएको थियो । यस्तै उहाँलाई भारत सरकारद्वारा सन् २०१८ पद्मश्री पुरस्कार, नेपाल सरकारले सन् २०१९ मा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारलगायतका थुप्रै पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

धेरै विकासोन्मुख देशहरूमा गएर आफ्नो सेवा दिएका उहाँले उत्तर कोरियामा गरेको काम नेसनल जियोग्राफिकले एउटा वृतचित्रका रूपमा प्रसारण गरेको थियो । यस्तै अस्ट्रेलियन पत्रकार अलि ग्रिपरले उहाँको जीवनीलाई समेटेर किताब नै लेख्नुभएको छ । जसको नेपाली अनुवादमा पनि पुस्तक प्रकाशित भइसकेको छ ।