• ७ वैशाख २०८१, शुक्रबार

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित

blog

सर्वोच्च शिखर सगरमाथा । फाइल तस्बिर

काठमाडौं, फागुन २४ गते । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रूपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत हुनुहुन्छ । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गर्नुभयो । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरूको साहसिक क्षमता र प्रतिभाको उजागरमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो ।

राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै पनि समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।”

पितृसत्तात्मक सोचबाट महिलाहरू बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उहाँले उल्लेख गर्नुभयो ।

राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्न मन्त्रालयले छुट्टै युनिट बनाएर पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले महिला आरोही तथा साहसिक आरोहणको क्षेत्रको आकर्षण र प्रोत्साहनका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरूको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरू क्रमशः खुलाएर जानुपर्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्त्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्रीमार्फत माग गर्नुभयो । अहिले सम्पर्क अधिकृतका रूपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो । रासस