• ६ जेठ २०८१, आइतबार

विमान कम्पनीको बक्यौता ९८ करोड

blog

काठमाडौँ, फागुन २४ गते । आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई सेवा दिँदै आएका हवाई कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता झन्डै ९८ करोडको हाराहारीमा छ ।

प्राधिकरणले बक्यौता रकम बुझाउन बाँकी हवाई कम्पनीलाई फागुन ११ गते परिपत्र गर्दै फागुन १६ गतेभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो । तिनको बक्यौता आन्तरिकतर्फ ४८ करोड ८५ लाख ८५ हजार ८२० र अन्तर्राष्ट्रियतर्फ ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै १६ वटा हवाई कम्पनीले आठ करोड ६९ लाख पाँच हजार ४०१ रुपियाँ बक्यौता रकम बुझाउन बाँकी छ ।

आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीले विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापतको बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले चैत १८ गतेदेखि लागू हुने गर्मीयामका लागि नयाँ उडान तालिका स्वीकृति नगर्ने अडान राखेको छ । गर्मीयामको उडान तालिका स्वीकृत नहुने भएपछि केही हवाई कम्पनीले बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको बाध्यकारी निर्णयपछि आन्तरिकतर्फका यती एयरलाइन्स, समिट एयर, एयर डाइनेस्टी र सिम्रिक एयरले बक्यौता बुझाइसकेका छन् । 

प्राधिकरणको तथ्याङ्कअनुसार आन्तरिकतर्फ (फिक्स विङ्स) नेपाल एयरलाइन्सको ३० करोड ४० लाख ९८ हजार छ सय, नेकोन एयरलाइन्सको चार करोड ७१ लाख १८ हजार ९७१, गुण एयरलाइन्सको चार करोड ४४ लाख २३ हजार ५१, यती एयरलाइन्सको तीन करोड ३६ लाख ३७ हजार २५८, सीता एयरको एक करोड ७१ लाख ६७ हजार २६८, सौर्य एयरलाइन्सको एक करोड ४८ लाख ७७ हजार ७५०, श्री एयरलाइन्सको ८६ लाख ७८ हजार १७९ र तारा एयरको ४८ लाख तीन हजार ७८७ रुपियाँ बक्यौता देखिएको छ ।

त्यस्तै हेलिकोप्टरतर्फ (रोटेट विङ्स) हेली एभरेस्टको ४१ लाख ११ हजार ४८४, फिस्टेल एयरको ३७ लाख ७९ हजार २१०, मनाङ एयरको २० लाख ४४ हजार ८२५, मुस्ताङ हेलिकोप्टरको १३ लाख ७३ हजार ७१, समिट हेलिकोप्टरको ११ लाख ३२ हजार १०९, साङ्ग्रिला एयरको पाँच लाख ५१ हजार ८६१, हेली एयरको चार लाख ३१ हजार ४३१, नेपाल एयरवेजको दुई लाख १४ हजार ५३५, गोमा एयरको ६२ हजार ९९४, हिमालय हेलिकोप्टरको ६१ हजार ५१८, मुस्ताङ एयरको १७ हजार ९११ बक्यौता छ । 

अन्तर्राष्ट्रियतर्फ मात्रै झन्डै ४० करोड बक्यौता 

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ उडान गर्दै आएका २३ वटा स्वदेशी र विदेशी हवाई कम्पनीको ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ बक्यौता छ ।

तथ्याङ्कअनुसार एयर अरेबियाको १३ लाख १९ हजार ६१५, एयर चाइनाको १४ लाख ८४ हजार ६११, एयर इन्डियाको सात करोड ४० लाख छ हजार ४७९, भुटान एयरलाइन्सको १४ लाख ५८ हजार ८७०, विमान बङ्गलादेशको २५ लाख ४९ हजार ९०६, क्याथे प्यासेफिकको १२ लाख ५८ हजार १४५, चाइना इस्टर्न एयरलाइन्सको छ लाख ८३ हजार ८७०, चाइना साउथर्नको ४२ लाख दुई हजार १९, इन्डिगोको दुई करोेड २९ लाख १६ हजार २६४, जजिरा एयरवेजको एक करोड २६ लाख ३८ हजार ३५ रुपियाँ बक्यौता छ । 

त्यस्तै कुवेत एयरवेजको एक लाख दुई हजार ५०३, मलिन्दो एयरको ६९ लाख चार हजार २८२, नेपाल एयरलाइन्सको १६ करोड ९५ लाख ५६ हजार ८९५, कतार एयरवेजको पाँच करोड ३४ लाख आठ हजार २३८, डुक एयरको पाँच लाख ८१ हजार ७४३, सलाम एयरको एक करोड ६४ लाख ३१ हजार २९३, सिचुवान एयरलाइन्सको दुई करोड २९ लाख ७३ हजार १३९, सिङ्गापुर एयरलाइन्सको एक लाख ७६ हजार ७२६, श्रीलङ्कन एयरलाइन्सको नौ लाख सात हजार ९८५, भिस्तरा एयरको दुई लाख ४३ हजार ४४९, थाई एयरको १७ लाख ६९ हजार ६२९, तिब्बत एयरलाइन्सको १२ लाख ९६ हजार ८२५ र टर्किस एयरलाइन्सको ४४ लाख ९३ हजार ८३१ रुपियाँ बक्यौता छ ।    

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।