• ९ मंसिर २०८१, आइतबार

फासविन्डर र उनको अली

blog

न्यु जर्मन सिनेमाका महान् हस्ती फासविन्डरका चलचित्र नहेर्ने या नामसम्म नसुन्ने फिल्म पारखी नहोलान् संसारमा । आर्ट सिनेमा र फासविन्डर एकअर्काका पर्यायजस्तै हुन् ।  १९६० को दशकमा फ्रेन्च न्यु वेभको प्रभाव युरोपेली चलचित्र निर्माण संस्कृतिमा प्रत्यक्ष रूपमा पर्न गएको देखिन्छ । यसको प्रमाण हो न्यु जर्मन सिनेमा । हिप्पी मुभमेन्ट, माक्र्सवादी आन्दोलन, नारी स्वतन्त्रता, लिङ्गभेद, रङ्गभेदविरुद्धको आन्दोलन आदिबाट ग्रसित ६० को दशकका जर्मनेली युवाहरूले चलचित्रमा ‘न्यु सिनेमा’को क्रान्ति छेड्नु अवश्यम्भावी थियो ।

नव युवाहरूले चलचित्रलाई कविता र चित्रकलाको समकक्षमा उभ्याउने कार्य गरे । परम्परागत शैलीले चलचित्र निर्माण गर्ने कार्य मात्रै भङ्ग नभई परम्परागत सोच, धर्म र धर्मद्वारा निर्देशित– प्रभावित जीवन शैली, प्रेम र विवाहप्रतिको धारणा, नश्लवाद, जातिवाद, समुदायवाद, सामन्तीपना, पुँजीवाद आदि सबै कुराको विरुद्धमा नवीन सोचको वकालत गरे । यी सबै कुराहरू फ्रेन्च, न्यु जर्मन सिनेमा चलचित्रमा देख्न सकिन्छ । जँ ल्युक गोदा, राइनर वेर्नर फासविन्डर यसका उदाहरण हुन्् ।

गोदा फ्रेन्च न्यु वेभका केन्द्रीय पात्र भएजस्तै फासविन्डर न्यु जर्मन सिनेमाका केन्द्रीय सेलिब्रेटीका रूपमा देखिन्छन् । गुणहरूका (लक्षणहरू) हिसाबले फासविन्डरका चलचित्रहरूलाई समय अवधिसहित तीनवटा चरणमा राखेर अध्ययन गर्ने गरिन्छ । सन् १९६९ देखि १९७१ सम्मका अनौठो स्वादका प्रयोगात्मक चलचित्रहरूको समय ।

१९७१ देखि १९७५ सम्मका जर्मन मेलोड्रामा र त्यसपछिका अन्तर्राष्ट्रिय सहकार्यसहितका चलचित्रहरू ।फासविन्डरका जर्मन मेलोड्रामा र अन्तर्राष्ट्रिय चलचित्रहरू अझ सहज रूपमा बुझ्न थप मजा लिन पहिलो अवधिका प्रयोगात्मक शैलीका चलचित्रहरू हेर्न जरुरी छ । पहिलो चरणका चलचित्रहरूमा देखा परेका धेरै लक्षण उनका पछिल्ला दुई चरणका पूर्ण विकसित चलचित्रमा आएका छन् ।

फासविन्डरले ‘जर्मन मेलोड्रामा’अन्तर्गतका चलचित्रमार्फत विश्वमा आफ्नो परिचय खडा गर्न सुरु गरेका हुन् । समाजसित एकाकार नभएका, एक्लोपनाको सिकार भएका, आफैँदेखि अलग, मुर्दा शान्तिले घेरिएका पात्रहरू, समलिङ्गी पात्रहरू, समाजबाट अवहेलित पात्रहरू फासविन्डरका चलचित्रमा आउँछन् । चलचित्रमा एउटा अनौठो मुड या वातावरणको सिर्जना गरेका हुन्छन् फासविन्डरले । उनको यो प्रभाव अमेरिकी निर्देशक जिम जार्मुसका चलचित्रहरूमा पनि देख्न सकिन्छ । 

जँ ल्युक गोदाजस्तै अमेरिकी फिल्म न्वाबाट प्रभावित फासविन्डरले अघिल्लो चरणमा क्राइम चलचित्रहरू पनि बनाएका छन् । पछि गोदा माक्र्सवादमै हामफाले तर फासविन्डरले भने स्पेनका लुइस बुनुएलजस्तै बुर्जुवा समाज, बुर्जुवा प्रवृत्तिलाई, सामन्ती, सङ्कुचित, परपीडक प्रवृित्त आदिमाथि प्रहार गर्न रुचि राखेको देखिन्छ । 

महिला र पुरुष दुवैको भित्री मनसम्म पुगेर अत्यन्तै यथार्थपरक मानवीय पीडा, प्रवृत्तिलाई केलाउनु पनि फासविन्डरको विशेषता हो । मजदुर र महिलाको पक्षमा, शोषितको पक्षमा जहिले पनि उनी उभिएको देख्न सकिन्छ । पृथ्वीभर मानवका रूपमा जन्मिएकाहरूको जीवनप्रति फासविन्डरको चासो रहेको छ । प्रायोगिक कालका उनका ‘ह्वाइटी’ (१९७०) र ‘काट्जेलमाकेर’ (१९६९) यसको कुराको राम्रो उदाहरण हो । 

मच्र्यान्ट अफ फोर सिजन (१९७१) फासविन्डरको पहिलो जर्मन मेलोड्रामा थियो । त्यसपछि बनेको द बिटर टियर्स अफ पेट्रा भोन कान्ट (१९७२)मार्फत फासविन्डर युरोपेली चलचित्रका सम्राटका रूपमा खडा भएका हुन् । यहाँ चर्चा गर्न लागिएको चलचित्र अली : फियर इट्स द सोल (१९७४) फासविन्डरको दोस्रो चरणको पाँचौँ चलचित्र हो । अली पनि बिटर टियर्स जत्तिकै महìवपूर्ण मेलोड्रामाको नमुना चलचित्र हो । हलिउडमा कार्यरत जर्मन निर्देशक डोगलस सर्कप्रति समर्पित गरेर बनाइएको अली : फियर इट्स द सोल डोगलसकै चलचित्र अल द्याट हेवन अलोज (१९५५) । फासविन्डरले अल द्याट हेवन अलोज को कथानकलाई जस्ताको तस्तै लिएर अर्कै स्वरूपमा अझ गम्भीर र व्यापक रूपमा उतारेका छन् ।

फासविन्डरको संसार डोगलसको भन्दा बढ्ता जटिलतामा अल्झिएको छ । अल द्याट हेवन अलोजले एउटै धर्मका, एकै देशका, प्रेम जोडी उभ्याएका थिए । फासविन्डरले भने अलग धर्म र देशका प्रेमीलाई उभ्याएका छन् । डोगलसको अल द्याट हेवन अलोज हलिउड कस्मेटिक गन्धले भरपूर छ भने फासविन्डरको अली पक्का युरोपेली बौद्धिकताले युक्त छ । अल द्याट हेवन अलोजमा देखिएका सम्पूर्ण खाले पात्र र दृश्यहरू अलीमा आएका छन् तर फासविन्डरको औँलाको छापजस्तो पहिचान बोकेर । त्यो कसैसँग मेल खाँदैन । त्यो चिज नै अलग हो । यस हिसाबले पनि फासविन्डरको विशिष्टता बुझ्नलाई अली फियर इट्स द सोलले विशेष महìव राख्दछ ।

अली ः फियर इट्स द सोलको मुख्य विषय अल द्याट हेवन अलोजकै जस्तो एक जवान युवक र प्रौढताबाट वृद्धावस्थातर्फ लाग्दै गरेकी विधवा महिलाबीचको प्रेम हो । रोमान्सजनित प्रेम पनि होइन यो । राधा कृष्णको आध्यात्मिक प्रेम पनि होइन । सबै किसिमले मुक्त अप्रत्यासित किसिमको प्रेम देखिन्छ । प्रेम पनि हो कि होइन जस्तो पनि लाग्छ तर महा शून्यतामा रुमल्लिइरहेको दुईवटा प्राणले एकअर्कालाई फेला पारेर त्राणको वातावरण सिर्जना गरेको भने अनुभूत गर्न सकिन्छ ।

दुई अलग लिङ्गको मिलनको कुरा उठाउँदा प्राणी जगत्मा भाले र पोथीको प्रकृति र प्रवृित्तबाहेक अर्को सत्य हुँदैन । लिङ्ग मात्रै हुन्छ उमेर, रङ्ग, स्वरूप, आदि केही हुँदैन । मानिस यस सत्यबाट अछुतो छैन । 

जङ्गलबाट बाहिर आएर खेती युगमा आएपछि मानिस अन्य प्राणीजस्तै केवल भाले र पोथीमा सीमित भएन । यो अब धर्म, राष्ट्र, संस्कार, संस्कृति, पद्धति, परम्परा, रुचि, छनोट, धनी, गरिब, किशोर, युवा, प्रौढ, वृद्ध, भाषा, भोजन, गोत्र, भेष, यशवान, कालो, सेतो, पहेँलो, खैरो आदि लाखौँ कुराको भ्रमपूर्ण माकुरे जालोमा फस्यो । जङ्गलमा बस्दा एक्लोपन र निराशाको अस्तित्व थिएन । जङ्गलबाहिर आएपछि सभ्य हुँदै जाने क्रममा मानिसको शरीरभित्रबाट आत्मा बाहिर निस्किएर महा एक्लोपनमा रुमल्लिरहेको सङ्केत फासविन्डरले देखाउँछन् र त्यो विसङ्गतिविरुद्ध कदम उठाउने पात्रहरूप्रति समाज कसरी खलपात्र भएर उभिन्छ भन्ने कुरासम्म पनि उनी पुग्छन् । 

अली : फियर इट्स द सोलको मुख्य पुरुष पात्र अली आत्मा हराएको पात्र हो । मोरक्कोको घुमन्ते (बरबर) समुदायको अली कमाइका निम्ति जर्मनी आइपुगेको छ । उसका बाबुआमा मरिसकेका छन् र पाँच दिदीहरूको विवाह भइसकेको छ । पैँतीस माथिकै देखिने अली अविवाहित छ । ऊ आफूजस्तै अरू पाँच अरबी कामदार साथीहरूसँग एउटै कोठामा बस्छ । ऊ जर्मनीमा रहेको केवल दुई वर्ष भयो । अलीको भूमिकामा देखिने अभिनेता El Hedi ben Salem m'Barek Mohammed Mustafa  ले फियर इट्स द सोल अघि फासविन्डरका पाँच चलचित्रहरूमा काम गरेका र पछि थप तीन चलचित्रमा अभिनय गरेका छन् । मुस्तफाको अभिनय विश्वासिलो छ । 

अली जर्मनहरूले दिएको नाम हो । उसको सक्कली नाम El Hedi ben Salem m'Barek Mohammed Mustafa हुन्छ । मुसलमान हुनुको नातामा, अरबी हुनुको नातामा सजिलोका लागि सबैभन्दा प्रचलित नाम अली दिएका हुन सक्छन् जर्मनहरूले । नायक यदि ब्रिटिस हुँदो हो त उसलाई पिटर दिइँदो हो या नेपाली भए गुर्खा दिइँदो हो । 

चलचित्रको पहिलो दृश्यमा रेस्टुरेस्ट देखिन्छ र अन्तिम दृश्य अस्पतालको रहेको छ । 

रेस्टुरेन्टमा एक ६०–६२ वर्षकी महिला (एम्मी कुरोस्की) प्रवेश गर्छिन् र चलचित्रले गति लिन थाल्छ । सञ्चालिका अर्डरका लागि आउँछे । महिलाले भन्न थाल्छिन्, “पानी प¥यो र म यहाँ पसेको ।” ऊ अझै सुनाउँछे कि ऊ हरेक साँझ त्यस रेस्टुराँको ढोका हुँदै घर फर्किरहेकी हुन्छे र एकदम अपरिचित, अनौठो सङ्गीत सुन्छे जुन अहिले पनि बजिरहेको छ । उसलाई भनिन्छ कि त्यो अरबी सङ्गीत हो । 

केही अरबी कामदारमध्ये एक अलीसँग एम्मी कुरोस्कीको त्यही रेस्टुरेन्टमा भेट, चिनजान र मित्रता गाँसिन्छ । मित्रता प्रेममा परिणत हुन्छ र त्यसले विवाहको रूप धारण गर्छ । 

अरबी सङ्गीत प्रेमको माध्यम भएर देखापर्छ । सङ्गीतलाई सम्पूर्ण मानव आत्माभित्र गुञ्जने साझा धुनको रूपमा त्यसै लिइएको छैन । त्यो हरेक भिन्न आत्मासँग एकाकार हुन पुगिहाल्छ । सङ्गीत र आत्माको देश, थर, समाज, रङ, धर्म, समुदाय केही हुँदैन । प्रेमलाई यही महान् आदर्शको अर्थमा स्थापित गरिएको छ । यही आदर्शको प्रतिनिधित्व गर्ने पात्र थिइन् मिरा । 

अली र एम्मी भेट भएकै दिन शारीरिक रूपमा पनि एकाकार हुन्छन् । अलीलाई एम्मीले आफूसँगै बसाउँछिन् । अलीको अनुभव छ अरबीहरूप्रति जर्मन दुव्र्यवहार, जर्मनहरू मालिक र अरबीहरू कुकुर । विदेशी कामदारप्रतिको दुव्र्यवहारको कुरा फासविन्डरले चलचित्र काट्जेलमाकेरमा पनि उठाएका छन् । काट्जेलमाकेरमा युनानी कामदार युवक छ र बदमासहरूबाट आजित भएर ऊ स्वदेश फर्कन्छ । 

फियर इट्स द सोलमा अरबी मानिस अलीमार्फत् विदेशीप्रतिको नकारात्मक व्यवहार र सोच फासविन्डरले देखाएका छन् । जतिसुकै विसङ्गति भोग्न परे पनि अलीको सिद्धान्त छ कि जति धेरै सोच्यो उति धेरै रोदन । ऊ त्यसैले नसोची हलुङ्गो तवरले बाँच्ने अभ्यास गर्न रुचाउँछ । तर अन्त्यमा सबै अरबीको जस्तै उसको शरीरले पनि भौतिक प्रतिक्रिया देखाउँछ र ऊ अस्पतालमा भर्ना हुन पुग्छ । 

औद्योगीकरणको समय सुरु भएदेखि मानिसको जीवनबाट विभिन्न कुरा चोइटिन थाल्यो । परिवारको सामीप्यतामा असर पर्न गयो, परिवारको मात्रै नभई जन्म स्थान, राष्ट्र सबैबाट पर आफूमा सीमित महा एक्लो र असहाय हुनपुगेको छ । एक्लो मानिस अनेक बहानामार्फत आफूलाई उभ्याउन खोज्छ तर ऊ असफल भइरहेको छ । 

अलीको अवस्थाले यही देखाउँछ । अलीले एम्मीलाई सम्झाएको हुन्छ कि डराउन हुँदैन, डरले आत्मा खान्छ । अलीको अस्पताल भर्नाले यो देखाउँछ कि उसले आफूलाई सामान्य बनाउँदा बनाउँदै पनि, सबै विकृतिलाई पचाउँदा पचाउँदै पनि आत्मालाई वशमा राख्दा राख्दै पनि उसको अस्तित्वमा केही न केही गडबडी हुँदै गइरहेको कारण ऊ अस्पतालमा पुग्छ । उसको आत्माले सबै विष पचाए पनि शरीरले नपचाएको भान हुन्छ । एउटा दृश्यमा एम्मीका साथीहरूले अलीको मासुदार, बलियो र पुष्ट शरीर हेरेर तारिफ र खुसी प्रकट गरेका हुन्छन् । 

तर त्यही शरीर पछि चुत्थो देखापर्छ । डाक्टरले एम्मीलाई भन्छ कि अन्य अरबीहरूलाई जस्तै अब छ महिनापछि अलीलाई पनि अल्सरले समात्नेछ । एम्मी डाक्टरलाई सुनाउँछे कि म त्यस्तो हुन दिन्न । एम्मी अलीलाई निस्वार्थ प्रेम गर्छिन् । अलीले एम्मीको विशाल आत्माको सराहना गर्छ । एम्मीको प्रेम शरीर जनित होइन भन्ने कुराको प्रमाण दिने एउटा दृश्य छ चलचित्रमा– अलीलाई आफ्नो देशमा पाइने खाना कुसकुस खान मन लाग्छ, एम्मीलाई कुसकुस खान मन पर्दैन र बनाउन पनि आउँदैन त्यसैले ऊ रेस्टुरेन्ट सञ्चालिका भए ठाउँ जान्छ । रेस्टुरेन्ट सञ्चालिका अलीलाई कुसकुस मात्रै होइन शारीरिक प्रेमले पनि तृप्त बनाएर पठाउँछे । एम्मी अलीको यस कार्यप्रति कुनै खिन्नता अनुभव गर्दिनँ । ऊ केवल अलीले आफूलाई (आत्मिक) प्रेम गरोस् भन्ने मात्रै चाहन्छे र आफ्नो प्रेम अलीमा खन्याउन चाहन्छे । प्रेमको महानता र विशालता यसैलाई भनिदै आएको छ । 

चलचित्रमा अलीले अरब र एम्मीले युरोपको प्रतिनिधित्व गरेका छन् । अरबमा बुबा, आमा र सन्तानसँगै बस्ने तर युरोपमा सबै एक्लो बस्ने कुरा अली र एम्मीको संवादमार्फत् आएको छ । सगोलमा बस्न रुचाउनु एसियाली र अफ्रिकी (तेस्रो विश्व)को गुण हो भने एक्लो बस्न रुचाउनु युरोपेलीको गुण । ६ जना मानिस एउटै कोठामा बस्नुलाई युरोपेलीहरू ‘सुँगुरको जीवन चरित्र’को संज्ञा दिन्छन् । त्यसैले जर्मनहरू अलीको आलोचना गर्छन् । 

उनका दुई छोरा र एक छोरीकी आमा एम्मी कुरोस्की एक्लै बस्छिन् । सबै सन्तान विवाहित छन् र आफ्नै धुनमा मस्त छन् । कसैलाई कसैको वास्ता छैन । उनीहरूका निम्ति सँगै बस्नु प्रेम नभई पाशविकता हो । औद्योगीकरण र आधुनिकताको सुरुवातसँगै युरोपले प्रेमलाई त्याग्दै गएको देखिन्छ । तेस्रो विश्वमा जीवनभरि एक जनासँग वैवाहिक जीवन यापन गर्ने र युरोपमा एकै मानिसले १५ पटक विवाह र प्रेम सम्बन्ध जोड्ने चलन यसै कारण विकसित हुन पुगेको हो । 

अलीले एम्मालाई विवाह गरेपछि उसका अरबी साथीहरूले उसलाई समर्थन गर्छन् तर एम्मीका छिमेकी महिलाहरू षड्यन्त्रमा लाग्छन् र उसलाई दुःखमा फसाउन चाहन्छन् । एम्मीका सन्तानहरू रुष्ट हुन्छन् । कामदार साथीहरू बोल्न छोड्छन् । पसलको साहुसमेत रुष्ट हुन्छ र दुव्र्यवहार गर्छ । फासविन्डरले व्यापारीको आत्मा कस्तो हुन्छ भन्ने कुरा पसले मार्फत देखाएका छन् । 

अरबी संसारले धेरै अघिदेखि उमेरमा जेठी महिलासँग विवाहको अनुमति दिन थालेको हो । संसारका धेरै मुलुकमा केही समयअघिसम्म घर व्यवहार चलाउन सजिलो होस् र छोराका लागि अभिभावकको समेत भूमिका निर्वाह गरोस् भनेर उमेरमा निकै जेठी महिलासँग ठिटाहरूको विवाह गरिदिने चलन पनि थियो । पछि त्यसलाई विकृतिका रूपमा हटाइयो पनि । 

तर स्वतन्त्र रूपमा मानिसले प्रेमी वा प्रेमिका छान्दा उमेर, लिङ्ग, रङ्ग, धन, धर्म केही नहेर्ने चलन भने हराएन । मानिसले पुराना कथा, नाटकमा एकै उमेरका प्रेम जोडीको प्रसङ्ग ल्याएर त्यसले अमरता प्राप्त गरेको उदाहरण स्वरूप हामीसँग रोमियो जुलियट लगायतका सम्झना छन् । 

वास्तवमा यस्तो होइन कि आजको युगमा मात्रै प्रेम कुनै पनि सिमानामा बाँधिन छोडेको । यो उहिलेदेखि नै थियो । प्रेम वास्तवमा जटिल र अनन्त छ । यो सामान्यतामा मात्रै छैन असामान्यतामा पनि छ । प्रेमलाई नियमित आकस्मिकताभन्दा फरक पर्दैन । मीराको प्रेम यही आकस्मिकता थियो सायद र असामान्य पनि ।