• १२ असोज २०८१, शनिबार

उपत्यकामा फागुपर्वको रौनक

blog

भक्तपुर, फागुन २३ गते । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । 

होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।

वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । उहाँका अनुसार १७औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुञ्जने गरेको उहाँको भनाइ छ ।

फागुपर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिने उल्लेख गर्दै धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो समावेशी चाडसमेत भएको जानकारी दिनुभयो । युगौँदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागुपर्वमा युवापिँढीले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । 

शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसका छोरा प्रह्लाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रह्लादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् तर प्रह्लादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् । सो योजनाअनुसार होलिका प्रह्लादलाई काखमा राखी अग्निमा बस्दछ तर प्रह्लादको सच्चा भक्तिले गर्दा होलिका जलेर मृत्यु हुन्छ तर भक्त प्रह्लादलाई आगोले छुँदैन । यसैको खुसियालीमा होली पर्व मनाउन थालिएको हो ।

यसैगरी राजधानीको वसन्तपुरमा होलीपर्व धुमधामका साथ मनाइएको छ । वसन्तपुर र न्युरोड क्षेत्रमा होली खेल्ने युवाको बाक्लो उपस्थिति थियो । त्यसमा विदेशीको समेत उल्लेख्य संलग्नता देखिन्थ्यो । धलासिक्वका मानन्धर समूूहले परम्पराअनुसार नागर्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीविरङ्गी ध्वजासहित चीर ढाल्छ । 

यसैगरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर ढालिएको थियो । चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो । सोमबार मध्यरातमा ढालेपछि पर्व समापन भएको छ । यसबीचमा गुरुमापा नामका राक्षसका लागि टुँडीखेलमा एक मुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन छ । इतुम्बहालको केशचन्द्रकृत परावर्त महाविहारको बासङ्घमा भात र मासु पकाउन चुलो तयार भएको सङ्घका सहकोषाध्यक्ष प्रेमकाजी शाक्यले जानकारी दिनुभयो ।

किलागल टोलका बिज्यापु समुदायबाट यो भोजन तयार हुने र खर्पनमा राखेर कतै नरोकी काँधमा बोकेर भतेर टुँडिखेल लैजाने प्रचलन छ । भगवान् श्रीकृष्णको गोपीनीसँगको सान्निध्यताको प्रसङ्ग चीरसँग जोडिएको छ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फागुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ ।