• १४ वैशाख २०८१, शुक्रबार

युवामा छाएको नैराश्य

blog

निराशा आफैँमा उदासीनता र निष्क्रियताको द्योतक हो । निराश जनमत मुलुकको विकास र उत्थानका निम्ति साधक होइन, बाधक मानिन्छ । यस अर्थमा परिवर्तनका वाहक  मानिने युवा शक्तिमा देखिएको र देखिने निराशा मुलुकको अधोगतिको मार्गचित्र हो । विद्यमान नेपाली परिवेश करिब–करिब यही स्थितिबाट गुज्रिरहेको अनुभूत हुन थालेको छ । 

नेपाली युवामा छाएको नैराश्यले जोखिमपूर्ण भविष्यको स्पष्ट सङ्केत गरेको छ । जुन देशका युवा जागरुक हुन्छन्, त्यो देशले सजिलै विकासमा फड्को मारेका धेरै उदाहरण विश्व परिवेशमा देख्न पाइन्छ । दुर्भाग्य हाम्रो देशका युवाको सन्दर्भमा भने नैराश्य र उदासीनता छताछुल्ल भएर सडकमा आउन थालेको छ, त्यो पनि आत्मदाह र आत्महत्याका रूपमा । पछिल्ला केही यस्ता घटनाले समग्र देशलाई नै स्तब्ध बनाएको छ । किन नेपाली युवाले यस्तो बाटो रोजिरहेका छन् ? के कारण हो आफ्नै पेसा, व्यवसाय र उद्यम गर्छु भनेर कम्मर कसेर हिँडेका युवा जीवनबाट निराश भएर पेट्रोल र डोरीको सहारा लिँदै आफ्नो इहलीला आफैँ समाप्त पार्न बाध्य छन् । नेपाली युवा आखिर किन निराश मनोविज्ञानबाट ग्रस्त छ ? राज्यले यसबारेमा गम्भीर भएर सोच्न आवश्यक छ । 

अर्कातिर बढ्दो विदेशमोहले भइरहेको युवा पलायन अझ टिठलाग्दो र डरलाग्दो प्रतीत हुन्छ । सामान्यतया विद्यालय स्तरको अध्ययनलगत्तै जोकोही नेपाली युवा विदेश जान तयार देखिन्छ, किन ? यो क्रमले  बितेका केही दशकयता निकै तीव्रता पाएको छ । आखिर हाम्रो देशका युवाले मुलुकभित्र किन आफ्नो भविष्य देखिरहेका छैनन् ? दैनिक सयौँ युवा आफ्नो भविष्य सुनिश्चितताका निम्ति किन विदेशी भूमि नै रोज्न बाध्य छन् ? यो विषयमा राज्य सञ्चालनको डाडुपन्यु लिएर बसिरहेका शक्ति, व्यक्ति र निकायले मन्थन गर्नु पर्दैन ? युवाको विदेश पलायनले देशको उज्ज्वल भविष्य मात्र पलायन भइरहेको छैन, यसले हाम्रो सामाजिक सद्भावसमेत खल्बलिएको छ । 

साँच्चै भन्ने हो भने आज हाम्रो गाउँघर युवाविहीन बनिरहेको छ । कतिसम्म भने वृद्ध बा–आमालाई आपत्विपत् पर्दा अस्पताल पु¥याउन छोराछोरी नभेटिने अवस्था छ । कसैको मृत्यु भएमा मलामी खोज्न अन्यत्र हिँड्नुपर्ने वा गाउँघरमा उपलब्ध महिला, बालबालिका वा वृद्धवृद्धाले शव बोकेर घाट जानुपर्ने कारुणिक अवस्था छ । के विद्यमान अवस्था रहिरहे हाम्रो कल्पनाको नयाँ नेपाल निर्माण सम्भव होला ? यो समग्र आलोकमा नेपाली युवामा देखिएको भयानक नैराश्य र बढ्दो विदेश पलायनलाई नियन्त्रण गर्न राज्यले समयमै वाञ्छित कार्यनीति अख्तियार गर्नु जरुरी छ ।