• १२ मंसिर २०८१, बुधबार

सञ्चार क्षेत्रमा राष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री अधिकारी

blog

कास्की समाचारदाता

कास्की, फागुन २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्रमा राष्ट्रिय लगानी हुनुपर्ने बताउनुभएको छ। प्रेस क्लब गण्डकीको पोखरामा आयोजित अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो। 

वैदेशिक लगानीमा खोलिएका सञ्चार माध्यम वैदेशिक स्वार्थमा लाग्ने उल्लेख गर्दै उहाँले उहाँले भन्नुभयो, “समाचार नेपाली भाषामै लेखेको छ, सम्पादकको नाम नेपाली नै छ तर लगानी कहाँबाट कसको भन्ने हो ? त्यसको स्वार्थ बुझिसक्नु छैन।” 

मुख्यमन्त्री अधिकारीले विदेशी लगानीबाट सञ्चालित सञ्चार माध्यमले नेपालको राष्ट्रिय स्वाधीनतामाथि आक्रमण गरेको आरोप लगाउनुभयो। त्यस्ता सञ्चार माध्यमले सबैभन्दा बढी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गरेको आरोप लगाउनुभयो। 

मिडिया र जनप्रतिनिधिहरूबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा दरार देखिएको मुख्यमन्त्री अधिकारीले जनाउनुभयो। “निर्वाचित संस्थालाई बलियो र सबलीकरण कसरी गर्ने ? त्योतर्फ मिडियाको ध्यान पुग्न सकेको छैन,” उहाँले भन्नुभयो। 

गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक अरू प्रदेशको तुलनामा राम्रो भएको मुख्यमन्त्री अधिकारीले दाबी गर्नुभयो। बिनादर्ता सञ्चालन भएका अनलाइन सञ्चारमाध्यमले व्यक्तिको व्यक्तिगत गोपनियताको ख्याल नगरी लेख्ने गरेको उहाँले आरोप लगाउनुभयो। सञ्चारजगत्लाई मर्यादित र अनुशासित हुनसमेत उहाँले आग्रह गर्नुभयो। 

भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री हरिबहादुर चुमानले सभ्य समाजको निर्माण भएमा पत्रकारिताको महत्व बढ्दै जाने बताउनुभयो। उहाँले पत्रकारिता भुइँमान्छेको आवाज बन्नुपर्ने सुझाव दिनुभयो। 

गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले पत्रकारले समाजको विकृति विसङ्गति चिर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। गण्डकीका पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका थापाले प्रदेश सभाले पास गरेको सूचनाको हकसम्बन्धी विधयेकले सुशासन कायम र समृद्धि हासिल गर्न सघाउ पु-याउने बताउनुभयो।