• १३ साउन २०८१, आइतबार

नयाँ भवनबाट बिर्तामोड नगर अस्पतालको सेवा सुरु

blog

अस्पतालको भवन उद्घाटन समारोहमा सभामुख देवराज घिमिरेलगायत।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २० गते। सभामुख देवराज घिमिरेले हरेक नेपालीले सर्वसुलभ रुपमा स्वास्थ्यमा पहुँच पाउनुपर्ने बताउनुभएको छ। सरकारी अस्पताललाई स्रोत साधन र भौतिक रुपमा सम्पन्न बनाउन सबै लाग्नुपर्नेमा पनि उहाँले जोड दिँदै यस्तो बताउनुभएको हो।

झापाको बिर्तामोडमा शनिबार नगर अस्पतालको नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गर्नु हुँदै यस्तो बताउनुभएको हो। उहाँले अस्पतालले यस क्षेत्रका जनतालाई सहज र सरल रुपमा सेवा दिने अवस्था सिर्जना गर्नेमा आफू आशावादी रहेको पनि जनाउनुभयो।

नगर गौरवको योजनाको रुपमा बिर्तामोड नगरपालिकाले भौतिक रुपमा सुविधायुक्त भवन बनाएर सोही भवनबाट अस्पतालको सेवा सञ्चालनमा ल्याएको हो। यसका लागि करिब साढे पाँच करोड लगानी भएको जनाइएको छ। १५ बेड क्षमताको नगर अस्पतालमा सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार हुनेछ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अनुसार नगरबासीले सामान्यभन्दा सामान्य उपचार गर्न पनि महंगो अस्पताल जानुपर्ने र धेरै खर्च गर्नुपर्ने अवस्था अन्त्य गरिने बताउनुभएको छ। अस्पतालको स्तरवृद्धिका लागि आवश्यक पूर्वधार विकासको काम पनि सँगसँगै भइरहेको बताइएको छ। यसका लागि १५ करोडभन्दा बढीको लागतमा पूर्वधारहरु बन्ने प्रक्रियामा छन्।

डायलसिससहित तत्काल नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रदान गरिनेछ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीका अनुसार दैनिक ओपीडी जाँच, उपचार तथा परामर्श सेवा, प्रयोगशाला सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, इसीजी सेवा, गर्भवती जाँच , निःशुल्क आइरन तथा क्याल्सियम वितरण तथा खोप सेवा प्रदान गरिनेछ।

नेपाल सरकारबाट तोकिएका १८ प्रकारका औषधि निशुल्क वितरण, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण लगायतका काम पनि अस्पतालबाट हुनेछ।

कीटजन्य रोगहरुको जाँच तथा उपचार सेवा, कोभिड रोगको निःशुल्क जाँच, बाल रोगको एकीकृत व्यवस्थापन, निरोगिता प्रमाणपत्र, २४ घण्टे आकस्मिक सेवा, २४ घण्टे सुरक्षित प्रसूति सेवा , आठ वटा डायलासिस मेसिनसहितको सेवा सञ्चालन हुनेछ। अस्पतालमा अहिले ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरिएको छ।