• १३ साउन २०८१, आइतबार

कफी पसलबाट खसेर सरोज उपाध्याय नेपालको निधन

blog

नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्याय नेपाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको आज नयाँ बानेश्वर नजिक पर्ने शङ्खमूलस्थित रहेको एक कफी पसलबाट खसेर निधन भएको छ ।

छ तले भवनको कफी पसलबाट आज शनिबार उहाँ खस्नुभएको बताइएको छ । नेकपा (एस) का महासचिव वेदुराम भुषालका अनुसार कफी पसलबाट कसरी खस्नुभयो, के भएको हो ? भन्नेबारेमा अझै कुरा आउन बाँकी रहेको बताउनुभयो । घरको माथिबाट खस्नुभएका उहाँको उपचारका लागि नजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि तत्काल लगिए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि माइतीघर मण्डलमा रहेको अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको भुषालले बताउनुभयो । 

पोष्टमार्टमका लागि उहाँको मृत शरीर केहीबेरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिने महासचिव भुषालले बताउनुभयो । घटनाबारे अध्ययन भइरहेकाले यसबारे पछि मात्र प्रहरीले जानकारी दिने उहाँको भनाइ छ । 

एकीकृत समाजवादीका नेतासमेत रहनुभएका मृतक नेपालका श्रीमती र दुई छोरी छन् । दुवै छोरी अमेरिकामा रहेकाले छोरीहरु नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने महासचिव भुषालले बताउनुभयो ।