• १३ साउन २०८१, आइतबार

‘विदेशीले नेपाललाई खेल मैदान बनाउन खोज्दैछन’

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेको आरोप लगाउनु भएको छ । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर सरकारले गल्ती गरेको उहाँले टिप्पणी गर्नुभयो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो । 

युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले गलत निर्णय गरेको उहाँले बताउनुभयो । भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाउनुभयो । नेपालीहरु मारेर भए पनि विदेशीलाई खुशी पार्ने काममा सरकार लागिपरेको उहाँले टिप्पणी गर्नुभयो ।  

विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको चर्चा गर्दै त्यसको विरोधमा उत्रन पार्टी नेता, कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको सर्वथा गलत छ, मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली गर्नु मात्र हो । राष्ट्रियतामाथिको प्रहार हो ।” 

२०३१ साललाई ठूलो स्केलमा पुनरावृत्ति गर्न खोजेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्विकार गर्न खोजिएको बताउनुभयो । “विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो” ओलीले थप्नुभयो, “२०३१ सालमा वाङदी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो । मार्फाबाट अब लिएर जाने लोमाङथाङकाभन्दा माथि । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । यो बुहतै खतरनाक कुरा हो ।”

हाम्रो भान्सामा विषादीयुक्त चिज आउन नहुने उहाँले बताउनुभयो । ‘मालिक खुशी पार्न जनताको ज्यान खतरामा राख्न सकिदैन’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि टिप्पणी गर्नुभयो ।