• १३ साउन २०८१, आइतबार

राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिर गर्नुभयो । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद् केन्द्रीय समिति बैठकमा उहाँले त्यस्तो बताउनुभएको हो । 

जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीवीलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्त्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूले बिगुल फुक्नुपर्ने बताउनुभयो । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीवीले जनतालाई भ्रममुक्त बनाउनु पर्ने उहाँको भनाइ छ । 

ओलीले भन्नुभयो, ‘दुर्भाग्यको कुरा देशका लागि के हो भने एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ । यथार्थता त यही हो नि ।’ सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना स्वार्थमा अल्झिएको उहाँले बताउनुभयो । जनता अलमल्याउन, चटके कुरा गर्न नहुने उहाँले बताउनुभयो । बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ । जनतालाई भ्रममा पार्ने, अलमल्याउने, दिग्भ्रमित गर्ने काम कसैले गर्न नहुने उहाँको भनाइ छ । 

“गलतलाई गलत देख्न सक्ने बनाउने, सहीलाई सही देख्न सक्ने बनाउने । गलत बाटो जान्न भन्न लगाउने, सही बाटो जान्छु भन्ने बनाउने बौद्धिक क्षेत्रको काम हो” उहाँले भन्नुभयो । सङ्गोष्ठी गर्नुस् बोल्नुस्  लेख्नुस् । इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता भएको उहाँले चर्चा गर्नुभयो । जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने, चेतना वा मनोबल कुनै हिसाबले परिवर्तन वा रूपान्तरणतर्फ जान नदिने तत्त्वलाई परास्त गर्नुपर्छ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको उहाँले चर्चा गर्नुभयो । चेतनास्तर माथि उठाउने काममा बुद्धिजीवीहरूले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।