जनार्जन खत्री
सर्लाही, फागुन २० गते । सर्लाहीका महिला अहिले गोबरको गुइँठा बनाउन व्यस्त छन् । ग्रामीण भेगमा अझै पनि परम्परागत चुल्होमा गोबरको गुइँठा बालेर खाना पकाउने गरिन्छ । हिजोआज खेतबारीको काम खासै नरहेकाले महिला गुइँठा बनाउन लागिपरेका हुन् ।
चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जकी रिङ्कु साहले कात्तिकदेखि चैत महिनासम्म गोबरको गुइँठा बनाउने गरिएको बताउनुभयो । “यो बेला पानी नपर्ने भएकाले खेतबारीमा खासै काम हुँदैन, यही मौकामा गोबरको गुइँठा तयार पारेर राख्छौँ,” साहले भन्नुभयो, “हाम्रोतिर दाउराका लागि नजिकै जङ्गल छैन, त्यसैले गुइँठा बालेरै खाना पकाउनुपर्छ ।”
मधेशमा आर्थिक अवस्था राम्रो रहेको परिवारले गुइँठाको प्रयोग गर्न छाडेर एलपी ग्यास राखे पनि गरिब, विपन्न र दलित परिवार अझै गुइँठाकै भरमा छन् । अहिले यहाँ प्रत्येक ग्रामीण बस्तीमा जाँदा बाटोको छेउमा जताततै गोबरको गुइँठा सुकाएको देखिन्छ ।
हिउँदभर तयार पारिएको गुइँठा वर्षायाम सुरु भएपछि पानीले नभिज्ने गरी एकै ठाउँमा चाङ लगाएर राख्ने गरिन्छ । बस्तुभाउको गोबरमा पराल र बाँसको एउटा भाटा हालेर गोबरको गुइँठा बनाइन्छ ।
एउटा गोबरको गुइँठाबाट एउटा परिवारमा एक छाक खाना राम्रोसँग पाक्ने साहले बताउनुभयो । अरू बेलाको गोबर खेतबारीमा हाले पनि हिउँदमा केही दिनको गोबरबाट गुइँठा बनाउने गरिएको छ ।
मलङ्गवा नगरपालिका–११, गम्हरियाका विश्वनाथ रायले अहिले फुर्सदको समयमा सबैले आ–आफ्नो घरमा गुइँठा बनाइरहेको बताउनुभयो । “अहिले खेतबारीको काम खासै नभएकाले सबैले गुइँठा बनाएका हुन्, रायले भन्नुभयो, “मधेशमा ग्याँसको प्रयोग बढे पनि गुइँठाको प्रचलन पनि हराएको छैन ।”
लालबन्दी नगरपालिका–३, जब्दीका वडाध्यक्ष बुद्धदेव चौधरीले वैकल्पिक इन्धनका रूपमा गुइँठाको प्रयोग हुने गरेको बताउनुभयो । अतिवपन्न र सुकुम्वासी परिवारमा वैकल्पिक इन्धनका रूपमा गुइँठा प्रयोग हुने गरेको वडाध्यक्ष चौधरीको भनाई छ ।
मधेशमा वन जङ्गल मासिएसँगै ग्रामीण भेगमा गुइँठाको थप अभाव खड्किएको स्थानीयले बताएका छन् ।