• १६ चैत २०८०, शुक्रबार

बदलिँदै झाँगड

blog

नेपालका आदिवासी जनजातिमा सूचीकृत झाँगडको बाक्लो बस्ती धनुषा जिल्लाको नौ सय बिघा गाउँ क्षेत्रमा छ तर सिरहा, सर्लाही, महोत्तरी, मोरङ, सुनसरीलगायतका तराई र केही पहाडी जिल्लामा पनि यिनीहरूको बसोबास देखिन्छ । 

द्रविडियन मूलका झाँगडलाई कतिपयले निग्रोवाइड प्रजातिका मानिससँग अनुहार र शारीरिक बनोट मिल्छ भनेका छन् तर यस बारेमा वैज्ञानिक मानवशास्त्रीय अनुसन्धान भएको छैन । कालो वर्णका यिनीहरू भारतको मध्यप्रदेशबाट नेपाल प्रवेश गरेका बताइन्छ तर भारत र नेपालका झाँगडमा केही सामाजिक र सांस्कृतिक भिन्नता छ । 

नेपालबाहेक भारत, बङ्गलादेश र भुटानमा पनि झाँगडको बसोबास रहेको छ । यिनीहरूको सबैभन्दा बढी जनसङ्ख्या भारतको झारखण्ड, बिहार, आसाम, छत्तिसगढ क्षेत्रमा छ ।  

झाँगडले मुण्डारी भाषा बोल्छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित जातीय परिचय पुस्तकमा यिनीहरूलाई ‘मूलतः बौद्ध धर्मावलम्बी’ भनिएको छ तर झाँगडले दुर्गापूजा, कालीपूजा, होली, दीपावली धुमधामका साथ मनाउने पनि देखिएको छ । यिनीहरूले फागुनमा पर्ने दुर्गापूजा र भदौको कर्मधर्म विशेष उत्सवका साथ मनाउँछन् । यिनीहरूले प्रकृति पूजासमेत गर्छन् । रक्सी र सुँगुरको मासुले पूजाआजा गरिन्छ ।       

उच्चारणगत भिन्नताले यिनीहरूलाई धाँगड, झाँगर, धाँगर पनि भन्ने गरिएको पाइन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भने यिनीहरूलाई झाँगड भनेर सूचीकत गरेको छ । यिनीहरूलाई उराँव वा उराउ पनि भनिन्छ । राष्ट्रिय जनगणना, २०६८ मा यिनीहरूलाई झाँगड÷धागर भनिएको छ । 

झाँगडलाई कुडाख, धान्कर÷धारिकर पनि भनिन्छ । यी कतिपय शब्दले उनीहरूको जातीय नाम बुझाउँछन् भने कतिपय यिनीहरूमा प्रचलित थर हुन सक्ने अनुमान गरिएको छ । 

राष्ट्रिय जनसङ्ख्या २०५८ मा झाँगडको जनसङ्ख्या ४१ हजार ७६४ थियो तर त्यसपछिको जनगणनामा जनसङ्ख्या घटेको देखाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार झाँगड÷धागरको जनसङ्ख्या ३७ हजार ४२४ छ । साथै सो जनगणनामा धन्कार÷धरिकारलाई छुट्टै जातिका रूपमा उल्लेख गर्दै उनीहरूको जनसङ्ख्या दुई हजार ६८१ देखाइएको छ । धन्कार÷धरिकार नै झाँगड भएकाले यिनीहरूको जनसङ्ख्या र नाममा विवाद गर्नु आवश्यक छैन । 

कतिपय अज्ञानता, उच्चारणगत भिन्नता वा थरका कारण पनि झाँगडका विभिन्न जातीय नाम प्रचलित भएका हुन सक्छन् । साथै पछिल्ला वर्ष साना साना सङ्ख्या भएका जातलाई लोपोन्मुख भनेर राज्यले विशेष सुविधा प्रदान गर्ने गरेकाले एउटै जातबाट उपजात देखाउने÷लेखाउने प्रचलन बढेको अनुमान गरिएकोछ ।

झाँगडले परिवारमा हुने जन्म, विवाह र मृत्युका कर्मलाई उच्च महìव दिन्छन् । विवाहको चाँजोपाँचो लमीले मिलाउँछन् । लमीले भनेअनुसार विवाह गर्दा केटाकेटी हेर्ने, हेराइने गरिन्छ । पहिला अभिभावकले नै हेरे पुग्थ्यो । विवाहको कुरा मिलेमा केटाका बाबुले केटीका बाबुलाई गच्छेअनुसार पैसा दिएर विवाह छिनिन्छ अर्थात् टीकाटालो गरिन्छ तर अहिले प्रेम  विवाह र आधुनिक विवाह पनि बढ्दो छ । 

विवाहमा जन्ती जाँदा दुलाहा दुलहीको घर नजिकै कसैको घरमा केही समय बस्नुपर्छ । दुलहीले आफ्नो घरबाट भाग्ने वा भागेको अभिनय गरेर कुनै साथीको घरमा बस्ने गर्छिन् । दुलहीका सखीसाथीले हराएकी दुलही खोजेर ल्याउने गर्छन् । हराएकी दुलही पाइएको खबर दुलाहाको कानमा परेपछि विश्राम गरेको घरबाट दुलही लिन जन्तीसहित दुलाहाले जानुपर्छ । यस्तो चलन पहिला भए पनि हाल धेरै परिवर्तन भएको छ ।

विवाहमा सिन्दूर साटासाट गरिन्छ । दुलाहा र दुलहीले एकआपसमा सिन्दूर लगाइदिन्छन् । बेहुलाले बेहुलीको सिउँदो र बेहुलीले बेहुलाको गालामा सिन्दूर लगाइदिने चलन छ । विवाहमा नाचगान गरिन्छ । पहिला जातीय सङ्गीत, गीत तथा बाजा प्रयोग गरिन्थे तर अहिले आधुनिक शैली र गीत प्रयोग हुन्छन् ।  वरिष्ठ सङ्गीत अन्वेषक बुलु मुकारुङले झाँगडले प्रयोग गर्ने बाजाहरू खेल, ढुल्की, डिगरी, झाँज, तिरियो, डिपडिया, मानर, मनरा, घुँगुर र झाँगड ढोल आदि हुन् भनेका छन् । 

पहिले आर्थिक अवस्था कमजोर रहेका झाँगडको हाल भने सामाजिक–आर्थिक अवस्थामा व्यापक परिवर्तन आएको छ । कृषि कर्म गर्ने तर अधिकांशको आफ्नो जग्गा नभएका झाँगडले जग्गावालको अधियाँमा खेती गर्ने गर्थे । मजदुरी गर्ने, मौसमी काम गर्ने यिनीहरू हाल वैदेशिक रोजगारीमा पनि जान थालेका छन् । पछिल्ला वर्षमा कृषिका साथै व्यापार, शिक्षण, राजनीति, समाजसेवा, जागिरमा पनि झाँगडको प्रवेश बाक्लिँदै आएको छ । 

केही वडामा झाँगड वडा सदस्य र केही अध्यक्ष भएका छन् । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक कोटाबाट झापाकी वन्दना झाँगड प्रदेश १ को सांसद बनेकी छन् । मोरङ, कटहरी गाउँपालिका–५, उराँव टोलका प्रमोद झाँगड पाइलट भएका छन् । प्रमोदकी दिदी सङ्गीता सरकारी नर्स हुन् ।  

पशुपालन र कृषिमा आबद्ध यिनीहरूले सँुगुर र अन्य पशुपालन गर्दै आएका छन् । कुखुरा, हाँस पनि पाल्छन् तर सुँगुरपालनमा जोड दिन्छन् । पूजाआजा र विवाहजस्ता उत्सवमा सुँगुरको मासु खानु, खुवाउनुपर्ने भएकाले सुँगुरपालनमा जोड दिइएको हो । धार्मिक कार्यका लागि यिनीहरूको आफ्नै पुरोहित हुन्थे, जसलाई धामी भनिन्थो तर अचेल कतिपयले बाहुनलाई नै पुरोहित बनाउने गरेका छन् । 

बाँसको चोयाबाट विभिन्न सामग्री बनाउने, माछा मार्ने जाल बुन्ने, दाम्ला, चकटी र ढक्की बनाउने सीप पनि यिनीहरूमा छ । अधिकांश घर खरले छाएका हुन्थे तर अचेल त झिगटी र टिनले छाउन थालेका छन् । कतिपयको ढलान गरिएको घर छ । 

शिशुको जन्मलाई यिनीहरू धार्मिक कार्य मान्दछन् । बालकको जन्ममा विशेष चाख दिने यिनीहरूले जन्मेको पाँच, सात वा नौ दिनमा शिशुको नामकरण गर्छन् । अहिले ११ र नौ दिनमा नामकरण गर्ने चलन बढेको छ । चेलीलाई गुन्यूचोलो दिने गरिन्छ । कसैले बाख्रो, सुँगुर पनि छोरीलाई पेवा दिन्छन् ।  

झाँगडमा मृतकलाई जलाउने वा गाड्ने गरिन्छ । धरैजसोलाई जलाउने नै गरिन्छ । बच्चालाई गाड्ने गरिन्छ । १३ दिनसम्म जुठो बार्ने तथा अन्य विधि पनि करिब बाहुन, क्षेत्रीकै सरह छ । 

त्रिभुवनचन्द्र वाग्ले