• ११ फागुन २०८२, सोमबार

पेशागत सुरक्षा सुनिश्चित गर्ने उम्मेदवारलाई मजदुरको मत

blog

मजदुरी गर्दै सप्तरीका मजदुरहरू। तस्बिर : सुधा देव

सुधा देव 
भारदह (सप्तरी), फागुन ११ गते ।
मजदुरहरूको पेशागत सुरक्षा र आर्थिक सशक्तीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने सप्तरीका मजदुरहरूले बताएका छन्।

जिल्लाका मजदुरहरू हरेक दृष्टिकोणले पछाडि परेको अवस्थामा उनीहरूको पीडा सुन्ने र व्यवहारमा कार्यान्वयन गर्ने उम्मेदवार अहिलेसम्म नभेटिएको सप्तरीमा लामो समयदेखि मजदुरी गर्दै आएका आपताब आलमले बताउनुभयो। उहाँका अनुसार चुनावका बेला उम्मेदवारहरूले विभिन्न क्षेत्र समेटिएको घोषणापत्र सार्वजनिक गर्दै प्रतिबद्धता जनाए पनि मजदुरका मुद्दा प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो।

“चुनावको समयमा उम्मेदवारहरूले घोषणापत्र देखाएर मत माग्छन्, तर कार्यान्वयन हुँदैन। अहिलेसम्म हामी मजदुर प्राथमिकतामा परेका छैनौं,” उहाँले भन्नुभयो। यसपटक भने मजदुरहरूको हकहित सुनिश्चित गर्ने उम्मेदवारको खोजी भइरहेको उहाँले बताउनुभयो।

तीन दशकदेखि मजदुरी गर्दै आउनुभएका परमानन्द साहले मजदुरको पेशा सुनिश्चित गर्ने, उचित पारिश्रमिक र पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र मत दिने बताउनुभयो। उहाँका अनुसार मजदुरहरू समयअनुसार उचित ज्याला र पेशागत सुरक्षासहितको घोषणापत्रको प्रतीक्षामा छन्।

अखिल नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले मजदुरहरूलाई सधैं उपेक्षा गरिएको बताउनुभयो। “उम्मेदवार र नेताहरूले मजदुरलाई जहिले पनि विभेद र उपेक्षा गर्दै आएका छन्। सरकारले तोकेको दैनिक ज्याला समेत व्यवहारमा कार्यान्वयन हुन सकेको छैन,” उहाँले भन्नुभयो। मजदुरका मुद्दा घोषणापत्रमा समेट्न नसक्दा उनीहरू थप मारमा परेको उहाँको भनाइ छ।

जिल्लाका अधिकांश उम्मेदवारहरूले अझैसम्म घोषणापत्र सार्वजनिक नगरेको र सार्वजनिक गरिएकामा पनि मजदुरका मुद्दा स्पष्ट रूपमा समेटिएको नदेखिएको उहाँले बताउनुभयो। यद्यपि, जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले भने आफू निर्वाचित भए मजदुरको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।