सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबीच भएको पारस्परिक रक्षा सम्झौता आजपर्यन्त प्रभावी छ ।
जब द्वितीय विश्वयुद्धमा डेनमार्क जर्मनीको अधिनस्त भयो नाजीको आक्रमणबाट ग्रिनल्यान्डको सुरक्षा गर्न अमेरिकाका लागि डेनमार्कका राजदूतसँग अमेरिकाले एक रक्षा सन्धि गर्यो । त्यतिबेला ग्रिनल्यान्ड डेनमार्कको उपनिवेश थियो । द्वितीय विश्व युद्धमा जर्मनी पराजित भएपछि अमेरिकी सेना ग्रिनल्यान्डबाट बिदा हुनै लाग्दा एक नयाँ खतरा सतहमा देखा पर्यो– सोभियत सङ्घ ।
सन् १९४९ मा सोभियत समर्थित कम्युनिस्ट क्रान्तिका अगाडि जब युरोपका सात राष्ट्रले समर्पण गरे अमेरिका र डेनमार्कलगायतका १२ राष्ट्रले मिलेर सोभियत आक्रामकताविरुद्ध रक्षात्मक गठबन्धनका रूपमा नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) स्थापना गरेका थिए । महिनौँपछि सोभियत सङ्घले आफ्नो पहिलो परमाणु बम के पड्कायो शीतयुद्धको प्रतिस्पर्धा चरमचुलीमा पुग्यो ।
आर्कटिकमाथि हुँदै सोभियत सङ्घका बम वर्षक विमानले उत्तरी अमेरिकाका लक्ष्यमा हमला गर्न सक्ने खतरा देखेर अमेरिका र नेटोको सुरक्षा रणनीतिमा ग्रिनल्यान्ड निकै महत्वपूर्ण भूभाग ठहरियो । अनि ग्रिनल्यान्डको सुरक्षाका लागि अद्यावधिक सम्झौतामा कुराकानी गर्न नेटोको अगुवाइमा अमेरिका र डेनमार्कका प्रतिनिधिबीच सन् १९५१ मा भेट भयो ।
यस बारेमा आर्कटिक सेक्युरिटी एट दी इन्स्टिच्युट अफ दी नर्थका विद्वान्बारे जालेन भन्छन्, “सन् १९५१ को सन्धिको मुख्य उद्देश्य के थियो भने उदीयमान पारमाणविक विश्वमा अमेरिकालाई त्यस अनुरूप तयारी अवस्था राख्नु थियो जसरी हामीलाई आवश्यक छ ।”
सन् १९५१ मा हस्ताक्षर गरिएको ‘डिफेन्स अफ ग्रिनल्यान्ड’ ले अमेरिकालाई द्वितीय विश्वयुद्धका बेलाको भन्दा धेरै सशक्त रूपमा ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति बनाउने अधिकार प्रदान ग¥यो । अमेरिकाले त्यस अधिकारमा टेक्दै ग्रिनल्यान्डको उत्तरी बर्फिलो क्षेत्रमा वायुसेनाको विशाल अखडा ‘थुले एयर बेस’ बनायो । हाल यसलाई ‘पिटोफिक स्पेस बेस’ भनिन्छ । जहाँ शीतयुद्ध उत्कर्षमा रहेका बेला १० हजारभन्दा बढी अमेरिकी सैनिक आवाद रहेका थिए ।
ग्रिनल्यान्ड हुँदै अमेरिकामा हमला गर्ने नाजी योजना थियो । द्वितीय विश्वयुद्धमा डेनमार्कले तटस्थ रहने घोषणा गरे पनि जर्मनीले त्यस अडानलाई वास्ता गरेर र सन् १९४० मा हमला गरेर डेनमार्कलाई नाजी शासनमातहत ल्यायो । ग्रिनल्यान्ड डेनमार्कको उपनिवेश भएका कारण जर्मनीले ग्रिनल्यान्डमा आक्रमण गरेर कब्जा गर्न सक्ने ठूलो चिन्ता अमेरिकालाई भयो । त्यहाँबाट नाजी जर्मनीले उत्तर अमेरिकी क्षेत्रमा आफ्नो कारबाहीका लागि अखडा बनाउन सक्थ्यो ।
जालेनले ‘आर्कटिक एक्ससेप्सनालिज्म : कोअपरेसन इन अ कन्टेस्टेड वल्र्ड’ मा लेखेका छन्, “यदि ब्रिटेन हारेको भए नाजीले युरोपबाहिर कसरी विस्तार हुन सकिन्छ भनी सोच्न सक्थे । एउटा योजना के थियो भने ग्रिनल्यान्डमा पुग्ने, त्यसपछि ग्रिनल्यान्डबाट अगाडि बढेर ल्याब्राडोर र न्युफउन्डल्यान्ड कब्जा गर्ने । त्यो सबै क्षेत्र दाउमा लागेको थियो ।”
नाजी अधिनस्थ डेनमार्कको सरकार भए पनि वासिङ्टनमा रहेका डेनमार्कका राजदूत हेनरिक कफम्यानले स्वविवेक प्रयोग गर्दै सन् १९४१ मा अमेरिकासँग एक यस्तो रक्षा सम्झौता गरे जसबाट ग्रिनल्यान्डमा वायुसेनाको विमानका लागि धावनमार्ग र जलसेनाका लागि बन्दरगाह निर्माण गर्न तथा त्यहाँ अमेरिकी सैन्य बल तैनाथ गर्न पूर्ण अधिकार प्रदान भयो ।
त्यसको चार वर्षमा अमेरिकाले ग्रिनल्यान्डमा फटाफट १३ सैन्य अखडा तथा जलसेनाका लागि चार अखडा निर्माण सम्पन्न गर्यो । त्यहाँ ५८ हजार जति सैनिक तैनाथ गरिए । सन् १९४४ सम्म आइपुग्दा ग्रिनल्यान्डमा अमेरिकी सैनिकको सङ्ख्या त्यहाँका स्थानीयको जनसङ्ख्याको २५ प्रतिशत जति पुगेको थियो ।
द्वितीय विश्वयुद्धपछि नेटोले ग्रिनल्यान्डलाई शीतयुद्धकालमा रक्षा कवचका रूपमा हेरियो । द्वितीय विश्वयुद्ध समाप्त भएपछि शीतयुद्धका उद्धिग्न आरम्भिक दिनमा ग्रिनल्यान्डलाई नौलो रणनीतिक महत्वका रूपमा हेरिन थालियो । सन् १९४९ मा जसै सोभियत सङ्घले परमाणु हतियार प्राप्त गर्यो अमेरिका र नेटो गठबन्धनले सोभियत बम वर्षक विमानलाई समय रहँदै पत्ता लगाउन आर्कटिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहे ।
युद्धका कारणले डेनमार्क अझै पनि आर्थिक सङ्घर्षमै थियो र ग्रिनल्यान्डमा आवश्यक परेको जति सैन्य सहायता उपलब्ध गराउन सक्ने अवस्थामा ऊ थिएन । सन् १९५१ मा नेटोले अमेरिका र डेनमार्कलाई एक यस्तो सन्धिमा वार्ता गर्न निर्देश गर्यो जसका आधारमा ग्रिनल्यान्ड तथा ‘नर्थ एट्लान्टिक ट्रिटी एरिया’ का अन्य इलाकामा पारस्परिक सुरक्षा व्यवस्थाको बन्दोबस्ती मिलाउन सकियोस् ।
नेटो र डेनमार्कलाई एउटा के कुरा थाहा थिएन भने अमेरिकाले ग्रिनल्यान्डको उत्तरी भेग थुलेमा विशाल अमेरिकी वायुसैनिक अखडा बनाउने गोप्य योजना बनाइसकेको छ । गुप्त नाम ‘ब्लु जे’ नाम दिइएको यस परियोजनालाई आर्कटिकमा अमेरिकी नौलो परमाणु रक्षा रणनीतिको मुख्य युक्तिका रूपमा सन् १९५० डिसेम्बरमा हरियो झन्डा देखाइएको थियो ।
जालेनले लेखेका छन्, “खासमा डर के थियो भने परमाणु हतियार बोकेका सोभियत लडाकु जहाजहरू उत्तरी आन्ध्र महासागरमाथि टेडोमेढो उडान भर्दै क्यानडाको पूर्वी भाग हुँदै न्युयोर्कमा परमाणु बम पड्काउने छन् । यस कारण अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो बलियो उपस्थिति जनाएर त्यहाँको क्षितिजमा हवाई निगरानी राख्न चाहन्थ्यो ।”
सन् १९५१ को वार्तामा असन्तुलित थियो । अमेरिकी प्रतिनिधिमण्डल र डेनमार्कको प्रतिनिधिमण्डलबीच जब सन् १९५१ मा भेट भयो अमेरिकी टोलीले ग्रिनल्यान्डको सुरक्षा सम्झौताको जुन मसौदा प्रस्तुत गरेको थियो त्यसमा डेनमार्क अधिराज्य लेखिएकै थिएन । अमेरिकी प्रतिनिधिहरू थुले अखडा बनाउने आफ्नो गुप्त लक्ष्यमा कतिको स्वार्थ केन्द्रित थिए भने उनीहरूले ग्रिनल्यान्डमा डेनमार्कको यथोचित सार्वभौमिकतालाई ठाडै बेवास्ता गरे ।
प्रतिवादमा डेनमार्कका मुख्य वार्ताकारले अमेरिकाद्वारा प्रस्तुत सुरक्षा सम्झौताको मसौदामा त ‘हामीद्वारा ग्रिनल्यान्ड अमेरिकालाई बिक्री गरिएको’ जस्तो अर्थ लागेको कुरा राखेका थिए । ग्रिनल्यान्डका मूल निवासी बासिन्दा यस वार्तामा सहभागी थिएनन् ।
यथार्थमा ग्रिनल्यान्डको भावी सुरक्षाका बारेमा डेनमार्कसँग सौदाबाजी गर्ने शक्ति त्यति धेरै थिएन । नेटोको पारस्परिक सुरक्षा प्रबन्ध स्पष्ट थियो तथा अमेरिका एक मात्र यस्तो देश थियो जोसँग ग्रिनल्यान्डलाई सुरक्षा उपलब्ध गराउन सैन्य स्रोत थियो ।
अन्त्यमा अमेरिकाले थुलेमा आफ्नो गोप्य हवाई अखडा निर्माण गर्न सन् १९५१ को ग्रिनल्यान्ड सुरक्षा सम्झौताबाट आवश्यक सबै अधिकार प्राप्त ग¥यो । त्यहाँ अमेरिकाले सैन्य प्रतिष्ठान, सैनिकका आवास निर्माण तथा ग्रिनल्यान्डभित्र आफ्नो सुरक्षा इलाकामा लगभग पूर्ण छुटका साथ काम कारबाही गर्न पाउने भयो ।
सन् १९५१ को सम्झौतामा डेनमार्कलाई धेरथोर सुविधा प्राप्त नभएको होइन । ‘सार्वभौम डेनमार्क अधिराज्य’ तथा ‘ग्रिनल्यान्डमा सबैतिर डेनमार्कका अधिकार प्राप्त अधिकारीलाई स्वतन्त्र गतिविधिको प्राकृतिक अधिकार’ प्राप्त हुने भाषा सम्झौतामा उल्लेख गरियो । यसरी सन् १९५१ मा गरिएको सम्झौता अझै पनि प्रभावमा रहेको छ ।
शीतयुद्ध कालमा साझा शत्रुका विरुद्ध अमेरिका र उसका मित्रराष्ट्रबीच गठबन्धनको एक निकै महत्वपूर्ण हिस्साका रूपमा ग्रिनल्यान्ड सम्झौतालाई हेर्छन् जालेन ।
उनको भनाइ छ, “सन् १९५१ को ग्रिनल्यान्ड सन्धि सन् १९४९ मा नेटो स्थापनाको एक स्वाभाविक जोड थियो ।”
सन् १९५१ देखि सन् १९५३ बीचमा थुले हवाई अखडा निर्माण गरियो । जसका लागि १२ हजार श्रमिकले दिन रात काम गरे । लगभग तीन लाख टन मालसामान निर्माणका लागि ल्याइयो । शीतयुद्ध चरमोत्कर्षमा हुँदा त्यहाँ १० हजार अमेरिकी सैनिक आवाद थिए । यस अखडाले अमेरिकालाई सोभियत परमाणु खतरा उत्पन्न हुँदा द्रुत प्रतिव्रिmया देखाउन सक्षम बनायो । किनभने थुले अखडाबाट उडान भरेका अमेरिकी बम वर्षक विमान केही घण्टामै लेनिनग्राद र मास्कोसम्म पुग्न सक्थे ।
शीतयुद्धपछि अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति धेरै कम गरे पनि सन् १९५१ को रक्षा सम्झौता अझैसम्म प्रभावकारी छ । यस सम्झौतामा पछिल्लो पटक सन् २००४ मा संशोधन गरी सन् १९७८ मा स्थापित ग्रिनल्यान्डका स्थानीयद्वारा गठित सरकारलाई मान्यता दिइयो तर ग्रिनल्यान्डमा अमेरिकी सैन्य काम कारबाहीलाई यसले रोक लगाएन । डेनमार्कले सन् १९७९ मा ग्रिनल्यान्डलाई स्वशासन अधिकार प्रदान गरेको थियो ।
डेढ सय वर्षको अमेरिकी प्रयास
वर्तमानमा अमेरिकाले ग्रिनल्यान्ड आफू अधिनस्थ ल्याउने प्रयास गरिरहेको छ तर अमेरिकी प्रयासको इतिहास धेरै लामो छ । सन् १८६८ मा अमेरिकाका विदेशमन्त्रीले ग्रिनल्यान्डलाई एक यस्तो भूमिका रूपमा महत्व दिएका थिए जसले ‘विश्वको वाणिज्य व्यापारमा नियन्त्रण’ का लागि अमेरिकालाई सक्षम बनाउन सक्थ्यो ।
विदेशमन्त्री विलियम सिवार्ड सन् १८६८ मा त्यस क्षेत्रलाई खरिद गर्ने प्रयास गरे । एक वर्षपहिले मात्र सिवार्डले ७२ लाख अमेरिकी डलरमा रुसबाट अलास्का खरिद गर्न मुख्य वार्ताकारको भूमिका निर्वाह गरेका थिए । यदि अलास्का प्राप्तिलाई सिवार्डको राजनीतिक रूपमा मूर्खतापूर्ण कार्य नमानिएको भए ग्रिनल्यान्ड (आइसल्यान्डलाई समेत) लाई अमेरिकाको भूमि विस्तारमा जोड्ने आफ्नो इच्छामा उनी सफल हुने थिए ।
यदि इस्वी संवत्को १९ औँ शताब्दीको मध्यसम्म अधिकांश अमेरिकीका लागि अलास्का ‘टेरा इन्कग्निटा’ अर्थात् अज्ञात भूमि थियो भने ग्रिनल्यान्डका बारेमा त झनै जानकारी थिएन । यस कारण सिवार्डले डेनमार्कको अधीनमा रहेको हिउँले भरिपूर्ण ग्रिनल्यान्डको सन् १८६७ मा विस्तृत सर्वेक्षण गर्न आदेश दिए । अनि सन् १८६८ मा सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले ग्रिनल्यान्डलाई प्रचुर सम्भावनाको भूमिका रूपमा चित्रित गरेको थियो ।
प्रतिवेदनका बारेमा सिवार्डले सङ्क्षेपमा यसरी लेखेका छन्, “ग्रिनल्यान्डमा ठूलो परिमाणमा ह्वेल, वालरस, सिल र सार्क, कोड, साल्मन, साल्मन–ट्राउट, हेरिङ, फ्याउरा, ब्वाँसा, रेन्डियर, भालु तथा असङ्ख्य चरा पाइन्छन् । पश्चिमी किनाराका कैयौँ ठाउँमा राम्रो कोइला पाइन्छ । जो पर उत्तरसम्म फैलिएको छ । यिनलाई सस्तोमै उत्खनन गर्न सकिन्छ र यी
सुविधासम्पन्न बन्दरगाहको नजिक छन् ।”
सन् १८६८ सम्म अलास्का खरिदको विषयमा समाचारपत्रहरूले ‘सिवार्डको मूर्खता’, ‘सिवार्डको बर्फिलो बाकस’ तथा ‘एन्ड्रु जान्सनको ध्रुवीय भालु बगैँचा’ भनेर मजाक उडाइरहेका थिए । ‘युकोन गोल्ड रस’ ले अलास्कालाई मूल्यवान् सम्पत्तिका रूपमा परिचित गराउन अझै दशकौँ समय लाग्यो । सुन खानी उत्खननका लागि अलास्कामा मानिस ओइरिन थालेपछि सिवार्डको कदमलाई सार्थक मान्न थालिएको थियो ।
त्यसअघिसम्म अमेरिकी कङ्ग्रेस र जनतालाई चारैतिर हिउँ नै हिउँ भएको क्षेत्रमा कुनै रुचि थिएन । यस कारण ग्रिनल्यान्ड खरिद गर्न सिवार्डले राखेको प्रस्ताव त्यहाँ विफल हुन पुग्यो ।

इस्वी संवत्को २० औँ शताब्दीको सुरुमा अमेरिकाले ग्रिनल्यान्ड आफ्नो अधीनमा ल्याउन अर्को योजनामा काम गर्न थाल्यो । डेनमार्कका लागि अमेरिकी राजदूतले तयार पारेको योजना अनुसार अमेरिकाले सोझै ग्रिनल्यान्ड खरिद नगरी विस्तारित त्रिपक्षीय व्यापारका माध्यमबाट त्यसलाई हासिल गर्नु थियो । सन् १९१० सेप्टेम्बर २० मा राजदूत माउरिस एगनले भूमि विनिमयको विस्तृत रूपरेखासहितको एक पत्र अमेरिकाको विदेश विभागलाई पठाए । त्यतिबेलासम्म पनि डेनमार्क र जर्मनीको सिमानामा रहेको स्लेसविग–होलस्टाइन नामको मूल्यवान् इलाका गुमाएको पीडामा डेनमार्क छटपटाइरहेको थियो । डेनमार्कका नेतासँगको कुराकानीमा एगनले यस्तो उपाय निकाले जसबाट स्लेसविग–होलस्टाइन इलाका पुनः डेनमार्कले प्राप्त गर्न सक्थ्यो । जुन इलाका सन् १८६४ मा जर्मन महासङ्घले कब्जा गरेको थियो ।
एगनले राखेको भूमि विनिमयको रूपरेखा यस प्रकार थियो : १. डेनमार्कले ग्रिनल्यान्ड अमेरिकालाई सुम्पने । २. ग्रिनल्यान्डको सट्टामा अमेरिकाले फिलिपिन्समा टापुहरूको एक समूह डेनमार्कलाई प्रदान गर्ने । ३. त्यसपछि डेनमार्कले फिलिपिन्सका टापु जर्मनीलाई सुम्पने (जो पूर्वमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको थियो ।) ४. त्यसको बदलामा जर्मनीले स्लेसविग–होलस्टाइन इलाका डेनमार्कलाई फिर्ता गर्ने ।
एगनले आफ्नो योजनालाई एक ‘साहसिक सुझाव’ भने र अमेरिकी सरकार यसमा सहमत रहेको पनि देखियो । भूमि विनिमयद्वारा ग्रिनल्यान्डमा नियन्त्रण बनाउने
काम कारबाही अगाडि नबढे पनि यस योजनाले अमेरिकालाई सन् १९१७ मा डेनमार्कबाट भर्जिन आइल्यान्ड्स खरिद गर्न मार्ग प्रशस्त भने गरेको भन्न सकिन्छ ।
डेनमार्कबाट ग्रिनल्यान्ड खरिद गर्नका लागि अमेरिकाले वैध रूपमा नजिकबाट प्रयास गरेको सन् १९४६ मा हो । द्वितीय विश्वयुद्ध समाप्त भएलगत्तै अमेरिकाले ग्रिनल्यान्ड आफ्नो मातहतमा ल्याउन जोडबल गरेको थियो । युद्धकालमा मित्रराष्ट्रका १० हजारभन्दा बढी लडाकु विमानले जर्मनीमा बमवर्षा गर्नका लागि ग्रिनल्यान्डमा इन्धन पुनःभरण गरेका थिए ।
द्वितीय विश्वयुद्ध अवधिमा ग्रिनल्यान्ड एक यस्तो रणनीतिक सम्पत्ति सिद्ध भयो जसलाई अमेरिकी सरकारको शीर्ष तहले डेनमार्कबाट खरिद गर्न धेरै नै रुचि देखायो । सन् १९४६ मा युरोपका लागि विदेश विभागका दूत विलियम ट्रिम्बलले सम्पूर्ण ग्रिनल्यान्डका लागि डेनमार्कलाई १० करोड अमेरिकी डलरको सुन दिने प्रस्ताव राखेका थिए ।
तर डेनमार्कका विदेशमन्त्री गुस्ताभ रासमिसनले डेनमार्कमा रहेका अमेरिकी राजदूतलाई भने, “हामी अमेरिकीप्रति आभारी छौँ तर मलाई लाग्दैन सम्पूर्ण ग्रिनल्यान्ड टापुप्रति उनीहरूको ऋणी छौँ ।”
अमेरिकाले ग्रिनल्यान्डको हिउँमुनि सैन्य अखडा निर्माण गर्ने प्रयोगसमेत ग¥यो । जसको सुरुवात उसले थुले हवाई अखडाबाट २४१ किलोमिटर टाढा क्याम्प सेन्चुरी नामको चौकीबाट गरेको थियो । अझै बढी महत्वाकाङ्क्षी योजना ‘प्रोजेक्ट आइसवर्म’ का लागि एक प्रमाणित अवधारणाका रूपमा क्याम्प सेन्चुरी रह्यो । ‘प्रोजेक्ट आइसवर्म’ अन्तर्गत अमेरिकी सेनाले ग्रिनल्यान्डको हिमपत्रमुनि यस्तो रेलरोड सञ्जाल बनाउन चाहेको थियो जसको सहायतामा सोभियत मुख्य भूमिसम्म पुग्न सक्ने गरी परमाणु क्षेप्यास्त्रलाई सजिलै ओसारपसार गर्न सकियोस् तर ‘प्रोजेक्ट आइसवर्म’ कहिल्यै निर्माण सम्पन्न भएन ।
उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित