• ११ फागुन २०८२, सोमबार

एकै वडाका साढे पाँचसय बढी किसान आलु खेतीमा संलग्न

blog

सल्यानका किसानले ड्याङ बनाएर लगाएको आलु खेती । तस्बिर : शंकर केसी

शंकर केसी,

सल्यान, फागुन ११ गते । सल्यान बाफुखोला क्षेत्रमा पाँचसय ५० बढी घर धुरीका किसान व्यवसायिक आलु खेतीमा संलग्न छन् । बागचौर नगरपालिका वडा नं. १२ बाफुखोला तथा आसपासका वडाहरुमा हिजोआज किसानका खेतबारी आलु लगाएर बनाइएका ड्याङले चिटिक्क देखिएका छन् । 

यस क्षेत्रका किसानहरुले व्यवसायिक आलु खेतीबाट वार्षिक करोडौँ रुपियाँ आम्दानी गर्दै आएको वडा अध्यक्ष टिकाराम वलीले जानकारी दिनुभयो । उहाँकाअनुसार आफ्नो वडामा करिब पाँचसय ५० घर परिवारले आलु खेती गरेका छन् ।

यहाँका किसानहरूले पुसको दोस्रो सातादेखि फागुनको पहिलो सातासम्म आलु रोप्ने गर्दछन् । त्यसपछि चैतको पहिलो सातादेखि गोडमेल सुरु गरिन्छ र गोडमेलपछि ड्याङको बीचमा मकैसमेत रोप्ने चलन रहेको छ । 

असारको अन्तिमदेखि आलु खन्न सुरु गरिन्छ । स्थानीय किसानका अनुसार मौसमले साथ दियो भने उत्पादन निकै राम्रो हुने गरेको छ । व्यापारीहरू बारीमै आएर आलु खरिद गर्ने भएकाले किसानलाई बजारसम्म लैजानुपर्ने झन्झट कम भएको स्थानीय कृषक गोपिलाल वलीले बताउनुभयो । उहाँका अनुसार आलु खेती आम्दानीको दरिलो श्रोत बनेको छ ।

बागचौर, १२ का वडा अध्यक्ष टिकाराम स्वयं पनि व्यावसायिक आलु खेतीमा संलग्न हुनुहुन्छ । उहाँले करिब १८ रोपनी क्षेत्रफलमा २५ क्विन्टल बीउ आलु रोप्नुभएको छ । “मूल्य राम्रो भएको अवस्थामा करिब १० लाख रुपियाँसम्म आम्दानी हुन्छ, नत्रभने ६ देखि ७ लाख रुपैयाँ त कहिँ पनि जाँदैन”, उहाँले भन्नुभयो । 

विगतमा सडक लगाएतको समस्याका कारण एक हजार पाँच सय रुपियाँ प्रतिक्विन्टलसम्म आलु बिक्री भएको अनुभव किसानहरूसँग छ । तर पछिल्लो समय बारीबाटै प्रतिक्विन्टल ६ हजारदेखि सात हजार रुपियाँसम्म आलु बिक्री हुने गरेको छ । बीउ आलु भने प्रतिक्विन्टल १० हजार रुपियाँसम्ममा बिक्री हुने गरेको किसानहरूले बताएका छन् ।

बेला बखतमा वर्षा भयो भने आलु उत्पादनमा उल्लेख्य वृद्धि हुने किसानहरूको अनुभव छ । वर्षा नहुँदा भने किसानहरूले वैकल्पिक सिंचाइ प्रणाली प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय विद्युत् विस्तार भएपछि सिंचाइमा सहजता आएको वडा अध्यक्ष टिकारामको भनाई छ । 

बागचौर नगरपालिकाका वडा नं. ४ लौराबाङ, वडा नं. ६ र वडा नं. ११ मा पनि आलु उत्पादन हुँदै आएको छ । वडा नं. ४ लौराबाङका किसान महेन्द्र केसीले २० रोपनी क्षेत्रमा १६ क्विन्टल बीउ आलु रोपेको बताउनुभयो । यस क्षेत्र अदुवा, बेसार, टिमुर, मकै, गहुँ, बेमौसमी तरकारी खेतीका लागि पनि राम्रो मानिएको छ ।

 स्थानीय तथ्यांकअनुसार साविक बाफुखोला गाविस क्षेत्रबाट गत वर्षमात्रै करिब १८ करोड रुपियाँ बराबरको आलु बाहिरिएको थियो । वडा नं. १२ बाट मात्रै वार्षिक १० करोड रुपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको वडा कार्यालयले जनाएको छ । सल्यानको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगायत शहरमा जाने गरेको छ ।