गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला सत्य तथ्य, सन्तुलित, मर्यादित समाचार पस्केर नागरिकलाई सुसुचित गर्न आग्रह गरेको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुमा निर्वाचन परिणामसम्बन्धी विभिन्न विश्लेषण आइरहेका बेला काउन्सिलले सो आग्रह गरेको जनाएको छ ।
केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी ‘जित्नेछन्’, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’ लगायतको विषय समाचारमा समेटिएको बताउँदै काउन्सिलले मतदाताको मनोभावनामा असर पुग्ने कुनै सूचना र समाचार नपस्कन आग्रह गरेको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले आग्रह गरेको छ ।
“आम मतदाताहरु दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्दछ” भन्दै काउन्सिलले भनेको छ, “आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको छ । स्रोतको संरक्षण नहुने र मतदाताको गोपनीयता भङ्ग हुने किसिमबाट सामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षा चुनौती हुन सक्दछ।”
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सञ्चार माध्यमलाई स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले मतदातालाई लाभ–हानी पुग्न सक्ने भएकाले तटस्थ र निष्पक्ष भूमिकामा खेल्न उहाँले आग्रह गर्नुभएको छ । पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आवद्ध सञ्चार माध्यम तथा पत्रकारहरू महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनु्पर्छ उहाँले भन्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा काउन्सिलले विशेष अनुगमन गरिरहेको छ उहाँले बताउनुभयो ।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलितरूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न उहाँको आनुरोध छ ।