दीपकप्रसाद गौतम
वीरगन्ज (पर्सा), फागुन ११ गते । आइतबारदेखि वीरगन्जमा दुई फरक धर्म समुदायबिचको उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा सहभागी बैठक तीन बुँदे निर्णय गर्दै सोमबार अपरान्ह सम्पन्न भएको हो ।
सदभाव समितिको अग्रसरतमा बसेको सर्वपक्षीय बैठकले आइतबार बेलुकी वीरगन्ज–११, श्रीपुरमा भएको घटना तथा उक्त घटनाबाट श्रृजित घटनाक्रमका दोषीहरूलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशिघ्र अगाडि बढाउने, दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने निर्णय गरेको छ ।
यसैगरी उक्त बैठकले व्यक्तिगत घटना/दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, समाजिक सन्जालमा भाइरल बनाउने, हेट स्पिच प्रशारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
बैठकमा सहभागी जसपा पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार आगामी दिनमा धार्मिक, सामाजिक सदभाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा समाजिक अगुवा र जनप्रतिनीधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठक बसेर सोमबार बिहानदेखि लगाइएको कर्फ्यू हटाउने निर्णय गरिएको छ । पार्किङको विषयमा दुई समुदाय युवाहरूमा भएको विवादले झडपको रूप लिन थालेपछि दुई समुदायबिच झगडा हुने सम्भावनालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले वीरगन्जमा अनिश्चितकालिन कर्फ्यू लगाएको थियो ।