• १३ साउन २०८१, आइतबार

मत माग्न नेता नेम्वाङ राप्रपा अध्यक्ष लिङ्देनको कार्यकक्षमा

blog

नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार नेता सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । 

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग आग्रह गर्नुभएको हो । नेम्वाङसँगै एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरु राप्रपा कार्यालय पुग्नुभएको थियो ।

भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो । भेटघाटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताउनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।  

भेटघाटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) का सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा आएको बताउनुभयो । एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदैआएको भन्दै आगामी दिनमा पनि सहकार्यमा निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपा नेताहरुले उम्मेदवार स्वयम् आफूहरुको कार्यालयसम्म आएर मत मागेकोप्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले जानकारी दिनुभयो । सो क्रममा नेता नेम्वाङसहित पार्टीका नेताहरुले एमालेको पक्षमा वातावरण बनाउनमा सहयोग गर्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।