• ११ असोज २०८१, शुक्रबार

शुक्रबारबाट सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुने

blog

शुक्रबारदेखि सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु हुने जानकारी दिनुहुँदै नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादव ।

काठमाडौं, फागुन १८ गते । भोलि (शुक्रबार) बाट नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु  हुने भएको छ । स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आयुष मन्त्रालयको सहयोगमा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो ।

बिहीबार नेपाल महर्षि बौद्धिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सकले पत्रकार सम्मेलन गर्दै सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म काठमाडौंमा गरिने जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले आम जनतालाई परम्परागत आयुर्वेदको सेवा व्यापकरुपमा विस्तार गर्न विश्वव्यापी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न उक्त सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको नारा सबैका लागि समग्र स्वास्थ्योपचार भन्ने छ ।

महासभाको प्रमुख आयोजक अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेसन नेदरल्यान्ड, अल इन्डिया काङ्ग्रेस दिल्ली, अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पूर्ण रहेका छन् भने स्थानीय आयोजक संस्थाहरूमा नेपाल महर्षि बौद्धिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक सङ्घ छन् । 

नेपाल र भारतबाट  १००/१०० जना आयुर्वेदका विज्ञहरू सहभागी हुने कार्यक्रममा ९० वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने छन् । तीन दिनसम्म चल्ने उक्त महासभाको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

महासभा सन् २०१५ मा नेदरल्याण्ड्सको रोयतमोल्डमा, सन् २०१७ मा संयुक्त अधिराज्य बेलायतको लण्डनमा र सन् २०१८ मा तीन पटक ब्राजिलको रियो दे जेनेरीयोमा, सोल्भानिया लेइडेनमा र नेदरल्याण्डको रोमेरमोन्डकम सम्पन्न भएको थियो ।