• ११ मंसिर २०८१, मङ्गलबार

बाह्र वर्षपछि इतुम्बहालमा प्रब्रज्याभिषेक

blog

कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरियो । तस्बिर : सुजन गुरुङ

प्रजित शाक्य
काठमाडौं, फागुन १८ गते ।
 कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।

काठमाडौं उपत्यकाका महायानी बौद्ध विहारहरूमा जीवित रहेको परम्परामध्ये प्रब्रज्याभिषेक पनि एक हो ।  यसै परम्परा अनुरूप श्री भाष्करदेव संस्कारित केशचन्द्रकत पारावत् महाविहार संरक्षण समाजको आयोजनामा यस विहारमा फागुन १६ देखि २१ गतेसम्म प्रब्रज्याभिषेक कार्यक्रम सञ्चालन भइरहेको छ । बृहत् रूपमा भइरहेको छ दिने प्रब्रज्याभिषेकअन्तर्गत आज विशेष दिन हो । इतुम्बहाःका कुलपुत्रहरुको बिहीबार पूर्णा बन्देछुयेगु (प्रब्रज्याभिषेक) गरिएको छ ।

प्रब्रज्याभिषेक भएका कुलपुत्रहरुलाई नगर परिक्रमा पनि गराइएको थियो । यसैगरी, कुलपुत्रहरुले चीवर धारण गरी, क्वापाःद्योको दर्शन गरी धर्मगण्डी बजाएका थिए । कूलपुत्रहरुले काःभुजं, गुुला बाजं नाय् बाजं, र पंयता बाजागाजा सर्वसंघका परिवारले नगर परिक्रमा पनि गरेका थिए ।

यस प्रब्रज्याभिषेक कार्यक्रम चक्रेश्वर ओमरत्न बज्राचार्य, उपाध्याय सुरज बज्राचार्य, चचापा सुरेश बज्राचार्य तथा मूल स्थविर मणिरत्न शाक्यसहित ११ जना स्थविरहरूद्वारा सञ्चालन भइरहेको छ । यस बृहत् प्रब्रज्याभिषेक कार्यक्रम सुसम्पन्न गर्नका लागि उत्तम शाक्यको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको थियो ।


संयोजक उत्तम शाक्यले काठमाडौं उपत्यकाका अन्य विहारमा आआफ्नो अनुकूल समयमा प्रब्रज्याभिषेकको आयोजना हुने भए पनि इतुंबहालमा १२ वर्षमा एक पटक मात्र प्रब्रज्याभिषेक गर्ने परम्परा रहेको जानकारी दिनुभयो । पछिल्लो पटक २०६८ सालमा इतुम्बहालमा प्रब्रज्याभिषेकको आयोजना भएको थियो । प्रब्रज्याभिषेकलाई शाक्यहरूको इतिहाससरह नै पुरानो रीति मानिन्छ ।

यसैगरी, केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले शाक्यकुलमा जन्म भएका पुत्रहरूले शाक्यमुनि गौतमबद्धको बुद्ध, धर्म र सङ्घको ज्ञान लिन चार दिनसम्म चीवर लगाएर गृहस्थी जीवन त्याग्न प्रब्रज्याभिषेक गर्नुपर्ने परम्परा रहेको बताउनुभयो ।

‘‘पहिलो दिन गत मङ्गलबार ग्वय्दाँ (सुपारी चढाउने) कार्यक्रम भएको थियो । ग्वय्दा प्रब्रज्याभिषेक गर्ने कूलपुत्रहरुबाट नियमपूर्वक वचन लिने परम्परा हो । कुलपुत्रहरुले सुपारी राखेर वचन लिने गर्दछ । साँझ ‘छ्वयलाभू’ कार्यक्रम सम्पन्न भयो । जसलाई विहारका स्थविरहरूले कूलपुत्रहरुको प्रब्रज्याभिषेक गर्ने पक्का भयो भन्ने सङ्केत गर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘बुधबार दुस्वलपूजा गरियो । यो पूजामा सामेल भएपछि प्रब्रज्याभिषेक गर्ने कूलपत्रहरु शुद्ध भएर बस्नुपर्ने हुन्छ । नुनसमेत बार्नुपर्ने हुन्छ । चीवर चार दिन धारण गरी प्रब्रज्याभिषेक लिएका कुलपुत्रहरु पुनः गृहस्थी जीवनमा फर्कन्छन् ।’’