• ११ मंसिर २०८१, मङ्गलबार

हराएको हुड्के नाचको महत्त्व

blog

पञ्चेबाजा र हुड्के नाच । तस्बिर : प्रेमराज सिम्खडा।

प्रेमराज सिम्खडा

कालीकोट, फागुन १८ गते। कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ। दश वर्षसम्म चलेको आन्तरिक द्वन्द्वको समयमा दलित समुदायको श्रम शोषण भएको भन्दै तत्कालीन नेकपा (माओवादी)ले हुड्के नाँच्न र दमाह बजाउन रोक लगाएको थियो। माओवादी शान्ति प्रक्रियामा आएसँगै हुड्के नाच र पञ्चेबाजा बजाउने पेसाले पुनः महत्त्व पाएको हो। विवाह ब्रतवन्ध, घरमा नयाँ सन्तानको जन्म भएपछि खुसीका साथ बजाउने गरिन्छ। 

पछिल्लो समय विवाह, ब्रतवन्धदेखि राजनीतिक दलका सभा सम्मेलनमा समेत पञ्चेबाजा र हुड्के नाचको माग बढ्न थालेपछि आम्दानी पढ्न थालेको कलाकारले बताएका छन्। 

हुड्के कलाकार नैन दर्जी पछिल्लो समय आम्दानीको स्रोत बढेको बताउनुहुन्छ। एउटा विवाहमा जाँदा खाना खाएर एक जनाको दुई हजारको दरमा ज्याला लिने उहाँको भनाइ छ। रास्कोटका नयाँ दमाइले आफू सानै उमेरमा हुड्के नाच्ने भए पनि बीचमा रोकिँदा सोचे जस्तो विकास नभएको अनुभव सुनाउनुभयो। कक्षा ५ पढ्दै आफूले आफ्ना बाजे बुवाबाट हुड्के नाच सिकेको उहाँको भनाइ छ। 

 पञ्चेबाजासँगै नाचिने हुँड्के नाचमा नैन र नयाँलाई निकै चर्चित मान्ने गरिएको छ। नाम पनि मिलेका र नाच्नमा खप्पिस नैन र नयाँलाई विवाहको सिजनमा घर बस्ने फुर्सद हुँदैन्। कालीकोटसँगै दैलेख, अछाम, मुगु, बाजुरा र जुम्लासम्म हुड्के नाच नाच्न गएको उहाँको अनुभव छ। 

चार जना स्वर मिलाउने (जसलाई स्वरे भनिन्छ) र दुई जना नाच्ने गरी ६ जनाको समूह एक लाख सम्मको सम्झौतामा अन्य जिल्ला जाने गरेका छन्। आम्दानीसँगै संस्कृतिको संरक्षण हुँदा सबै खुसी छन्। स्थानीय तह र जिल्ला समन्वयले पनि पञ्चेबाजा संरक्षणका लागि कार्यक्रम बनाउने गरेका छन्। रास्कोट नगरपालिका पूर्व प्रमुख कासिचन्द्र बरालले आफ्नो पालामा हुड्के कलाकार र पञ्चेबाजा संरक्षणका लागि बजेट नै विनियोजन गरेको सुनाउनुभयो। एउटा समिति बनाएर बजेट दिने गरेको उहाँले सुनाउनुभयो्। सेतो दौरा लगाएर नाचिने यो नाच निकै राम्रो र सन्देश मुलक हुन्छ।