• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन

आठ दलका शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण जारी

blog

तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आठ राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा सुरु भएको अभिमुखीकरण कार्यक्रम । तस्बिर : केशब गुरुङ

काठमाडौं,  फागुन  १८ गते । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बिहीबार दिउँसोबाट कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।


अभिमुखीकरण कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायतका नेताको उपस्थिति रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने र आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गर्नुहुनेछ ।

ती आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै, नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।