काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई मतदान गर्न नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेको छ । बिहीबार दिउँसो एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो । उक्त भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको हो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष नेपालले मत माग्न आएको धन्यवाद ज्ञापन गर्दै बिदा गरेको जानकारी दिनुभयो ।
उपमहासचिव खतिवडाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौँ भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताउनुभयो ।
त्यस्तै, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरूले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
उहाँले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताउनुभयो । उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको धारणा औँल्याउनुभयो ।
बिहीबार एमालेका उपाध्यक्षसमेत रहनुभएका उहाँले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी रहनुभएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिका लागि सहयोग माग्न तीव्र भेटघाटमा हुनुहुन्छ । नेकपा एसले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।