नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, फागुन १८ गते । वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य सुरु गरेको छ।
डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताउनुभयो।
जिल्लाको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँ नजिकै रहेको हुलाकी सडकको छेउका ५५ अवैध घरटहरा भत्काइएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घरटहरा भत्काइएको जानकारी उहाँले दिनुभयो।
उहाँले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउका धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको बताउनुभयो। कोहलपुर सब–डिभिजन वन कार्यालयअन्तर्गतको कोहलपुर–८ स्थित शीतलछाया सामुदायिक वन, कोहलपुर–७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यवासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वन क्षेत्रमा पनि अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन्।
सो अतिक्रमण २०५८ सालदेखिको भएको जनाइएको छ। सिक्टा सब–डिभिजन वन कार्यालयअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामीडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा पनि अतिक्रमण भएको छ।
त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर रहेको छ। नरैनापुर सब–डिभिजन वन कार्यालयअन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समीर, सदाबहारलगायत नामका सामुदायिक वनको करिब १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको छ।
नेपालगञ्ज सब–डिभिजन वन कार्यालयअन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपुर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ। राप्ती सब–डिभिजन वन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिद्धेश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुसुमिया, सिद्धबाबालगायत सामुदायिक वनको करिब १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ।
शमशेरगञ्ज सब–डिभिजन वन कार्यालयअन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ।