• २१ पुस २०८१, आइतबार

गुणस्तरहीन खाद्य सामग्री नष्ट

blog

बाबियाचौर बजारका पसलहरु अनुगमन गरिँदै । तस्बिर : साधन घर्ती

साधन घर्ती  

म्याग्दी (दरबाङ), फागुन १७ गते । म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो । 

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको, खाद्य अनुज्ञा पत्र नलिएको, मुल्यसुची नराखेर सञ्चालन गरेको पाइएको छ । ७० हजार रुपियाँ मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।  

होटल, खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञापत्र नलिइ सञ्चालन गरेका खाद्य उद्योगलाई तत्काल अनुज्ञापत्र लिन, पसलहरुमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले बताउनुभयो । 

‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३, ४ र ५ बमोजिम खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको उहाँले भन्नुभयो । कार्यालयले यसअघि पनि म्याग्दी सदरमुकाम बेनी बजार, दरबाङ बजार, दाना लगायत बजारहरु अनुगमन गरेको थियो । 

अनुगमन टोलीलाई स्थानीय व्यवसायीहरुले उपभोक्ता अधिकारसम्बन्धी ऐन नियमबारे जानकारीको अभाव र डिलरहरुले म्याद नाघेका सामान गाउँका पसलमा पठाउने गरेको गुनासो गरेका थिए । बजारबासीले सदरमुकामभन्दा बाहिरका बजार र गाउँका पसलमा नियमित अनुगमन गर्न आग्रह गरे ।

अनुगमनमा खाद्य निरीक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता, वडा अध्यक्ष धनबहादुर खाती, मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्य, म्याग्दी उद्योग वाणिज्य संघ मंगला गाउँपालिका इकाईका अध्यक्ष राजु पाण्डे, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीबाट सन्तोष ढुङ्गाना बाबिचौर प्रहरी चौकीका प्रहरी सहायकनिरिक्षक लालबहादुर थापा लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।