• १३ साउन २०८१, आइतबार

राष्ट्रसेवकलाई अन्तर्राष्ट्रियस्तरका बनाउनुपर्छ: मन्त्री मोदी

blog

ललितपुर, फागुन १७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बत्ताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले सो कुरा बत्ताउनुभएको हो ।

राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भन्नुभयाे, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारतलगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउने गरी क्षमता विकास गर्नुपर्छ, कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरि ठानेर काम गर्ने प्रवृत्तिको विकास र क्षमता  निर्माणतिर तपाईँहरूको ध्यान जाओस् ।”


स्टाफ कलेजलाई नमुनाको रूपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाइ राख्दै भन्नुभयो, “स्टाफ कलेजलाई नमुनाको रूपमा विकास गर्न मैले के भूमिका खेल्नुपर्ने हो खेल्न तयार छु” मन्त्री मोदीले भन्नुभयो ।  

सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरूलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बत्ताउनुभयो। 

छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने कुरामा मन्त्री मोदीको जोड थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि उन्नत कामका लागि युवालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू, देश र जनताका पक्षमा उदाहरणीय काम गर्ने पक्षमा हुनुहुन्छ, उहाँले केही न केही गर्ने सोचले नै युवालाई मन्त्रिपरिषदमा सहभागी गराउनुभएको छ, हामी केही न केही गर्छौँ, हामीले गर्न नसके अरूले गर्न सक्ने अवस्था अब आउनेवाला छैन ।”

उहाँले स्टाफ कलेजमा जारी नयाँ शाखा अधिकृतहरूको प्रशिक्षण कक्षाको अवलोकन पनि गर्नुभएको थियो ।छलफलका क्रममा उपकार्यकारी निर्देशक विष्णुप्रसाद लम्सालले स्टाफ कलेजका सन्दर्भमा बिफ्रिङ गर्नुभयो । कार्यकारी निर्देशक राजन खनालले मन्त्री मोदीको निर्देशनलाई अक्षरशः पालना गरेर अगाडि बढ्ने बत्ताउनुभयो । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन अनुसार प्रशिक्षण प्रतिष्ठान २०३९ सालमा स्थापना भएको हो । ७२ रोपनी क्षेत्रफलमा बनेको प्रतिष्ठानमा १२० जना प्रशिक्षार्थीलाई राख्न सक्ने आवासीय भवन छ ।