• ८ मंसिर २०८१, शनिबार

पौराणिक कथा

दुष्कर्मको प्रतिफल

blog

पैसा कमाउने चाहना सबैको हुन्छ । पसल थाप्ने, उद्योग व्यवसाय गर्ने, कलकारखाना खोल्ने आदि जति पनि व्यवसाय हुन्छन्, भएका छन् सबैका उद्देश्य पैसा कमाउनु नै हो । जागिर खानु, पढ्नु पढाउनुको उद्देश्य पनि पैसा कमाउनु नै हो । भाइबहिनीहरू तिमीहरू स्कुल जाने, ध्यान दिएर पढ्ने, गृहकार्य गर्ने आदि कार्य गरिरहेका छौँ त्यसको पनि उद्देश्य ठूलो भएपछि पैसा कमाउनु नै हुनुपर्छ । पैसाबिना कामै चल्दैन । यस्तो अवस्थामा त्यस्तो चाहना हुनु आफैँमा अस्वाभाविक पनि होइन तर पैसा कमाउनु मात्र ठूलो कुरा होइन पैसा कमाउने तरिका मिलाउनु पनि पर्छ, खर्च पनि गर्नुपर्छ र खर्च गर्ने तरिका पनि मिलाउनुपर्छ । अन्यथा त्यस्तो पैसाले दुःखबाहेक केही दिँदैन । पहिलो कुरा त पैसा कमाउँदा असल कर्ममा ध्यान दिनुपर्छ । सत्कर्म गरेर कमाएको पैसा टिकाउ पनि हुन्छ र सुख पनि दिन्छ । दुष्कर्म गरेर कमाएको पैसा न टिक्छ न सुख नै पाइन्छ । 

भागवत पुराणमा एउटा कथा छ । धेरै पहिलेको कुरा हो । अवन्ति नामको गाउँमा एक जना  सेठ बस्थे । उनले धेरै पैसा कमाए तर अन्त्यमा  उनको दुर्गति नै पैसाको कारण बन्न पुग्यो । उनको स्वभाव राम्रो थिएन । त्यसमाथि कन्जुस त्यति नै । परिवारको सदस्यले समेत भरपेटसम्म खान हुँदैन भन्थे । अरूको त कुरै भएन । घरमा प्रशस्तै नोकर चाकर थिए । पैसा भएपछि नोकर चाकर हुने नै भए तर उनीहरूले समयमा भनेबमोजिम न तलब पाउँथे न भरपेट खान नै । 

उनी यस्ता कृपण थिए कि लिएको सापटी फर्काउँदैन थे । सापटी फिर्ता गर्न थाले घाटा हुन्छ भन्थे, लामो समयसम्म विभिन्न बहाना पारी पर्खाउँथे । विस्तारै तिमीसँग कहिले लिएको छु र फिर्ता गर्ने भन्न थाल्थे । कमाएको पैसाको ३३ प्रतिशत सेवा र परोपकारका लागि छुट्याउनुपर्छ भन्ने शास्त्रीय भनाइ छ तर उनी ३३ प्रतिशत होइन ३३ पैसा पनि खर्च गर्न चाहँदैनथे ।

 

केही समयसम्म त ठीकै चल्यो । अरूलाई ठगेको पैसाले तीन चारवटा घर बने, गाडी भए । कल कारखाना खोले । समाजले पनि गाउँका सेठजी हुन् परेको बेला काम लाग्न सक्छन् भनेर उनका तर्फबाट भएका अत्याचार सहेर पनि राम्रै सहयोग गरे, सम्मान दिए तर एकोहोरो रोटी कति दिन पाक्थ्यो र । 

समाज त पैँचो हो, जुन लेनदेनमा चलेको हुन्छ । जहाँ दिने मात्र काम हुन्छ त्यहाँ प्रेम हुन्छ, जहाँ लिने र दिने बराबर हुन्छ त्यहाँ व्यापार हुन्छ भने जहाँ लिने मात्र काम हुन्छ त्यहाँ घृणाबाहेक केही हुँदैन । यहाँ पनि यस्तै भयो । जब आपत्विपत् परेको बेलासमेत उनीबाट एक कौडीको सहयोग भएन, पाइएनन् त्यसपछि गाउँलेहरूको धैर्य टुट्यो र सबैले टेर्न छाडे । 

विस्तारै उनको व्यवहारबाट देवता रिसाए, पितृ रिसाए । सबैभन्दा बढी मानिस रिसाए, समाज रिसायो । यसैका कारण विभिन्न खाले विपत्ति निम्तिन थाल्यो । सम्पत्ति सकिँदै गयो, समस्या थपिँदै गयो । सबैले वास्ता गर्न छाडेपछि एक्लो र निःसहाय बन्न पुगे ।

हेर्दा हेर्दै सेठजी महलबाट सडकमा पुगे तैपनि कठै बरा भन्ने कोही भएनन् । सबै खाइस् र पाइस् भन्थे सकेको अरू समस्या थपिदिने गर्थे । जब घरमा खाने एक दानासम्म भेटिएन तब उनको होस खुल्यो । होस त खुल्यो तर त्यतिबेलासम्म धेरै अबेर भइसकेको थियो । जसरी भए पनि प्राण त बचाउनै प-यो तर बचाउने पो कसरी । त्यसैले जोगी बनेर भीक्षा माग्न थाले तर दिउन् पनि कसले ? दिने मानिस त राखेकै थिएनन् । उनले विभिन्न किसिमका नारकीय कष्ट सहेर जीवन बिताउनु प¥यो । यसरी उनले बाँचुञ्जेल पनि कष्ट सहनुप-यो मर्दासमेत आँसु झार्ने कोही भएनन् । मलामी पाउनु त यसै पनि टाढाको कुरा भई नै हाल्यो । तीन÷चार दिनसम्म उनको साल बसेकै स्थानमा सडिरह्यो । जब गनाएर बस्नै नहुने भयो तब दुई÷चार जना मिलेर बसेकै स्थानमा खाल्टो खनेर पुरिदिए । विचरा सेठजीको सम्पत्ति न बाँचुञ्जेल काममा आयो न त्यस्तो पैसाले मरेपछि नै काम दियो ।

यस व्यास कथामा के कति सत्यता छ उनै जानुन् तर सम्पत्ति कमाउने तरिका र खर्च गर्न तरिका नमिलाउँदाको अवस्था भने जहाँ पनि यस्तै हुन्छ ।