• १२ मंसिर २०८१, बुधबार

एकीकृत कृषि तथ्याङ्क राखिने

blog

सल्यान समाचारदाता

सल्यान, फागुन १७ गते । कर्णाली प्रदेशका १० वटा जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्याङ्क एकीकृत सफ्टवेयरमा राखिने भएको छ। कृषि विकास कार्यालय सल्यानमा तथ्याङ्क सङ्कलनसम्बन्धी कर्मचारीलाई अभिमुखीकरण कार्यक्रमको थालनी गरिएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लामा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार सल्यानबाट अभिमुखीकरण सुरु गरिएको हो।

कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तथा पशुसम्बन्धी वास्तविक तथ्याङ्क नहुँदा कार्यक्रम गर्न कठिनाइ भएपछि सफ्टवेयर सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार स्थलगत रूपमै त्यहाँको अवस्था र तथ्याङ्क सङ्कलन गर्न स्थानीय तहमा रहेका प्राविधिक खटिनेछन्। कृषि र पशुसम्बन्धी वास्तविक तथ्याङ्क भएमा सोसम्बन्धी कार्यक्रम गर्न, योजना बनाउन, कुन ठाउँमा के कार्यक्रमका लागि बजेट विनियोजन गर्ने, विगतमा किसानलाई उपलब्ध गराएका सामग्री के कस्तो अवस्थामा छन् ? जस्ता विषयमा जानकारी लिन सजिलो हुनेछ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख राजु भोषले तथ्याङ्कबिना कार्यक्रम सञ्चालन गर्न नसकिने भएकै कारण कृषि तथा पशु कार्यक्रम प्रभावकारी बनाउन सफ्टवेयर सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार कृषि र पशुसम्बन्धी तथ्याङ्क पालिका र जिल्लाबाट आएपछि सङ्घमा पठाइनेछ। सफ्टवेयरमा कृषि र पशुसम्बन्धी सबैखाले तथ्याङ्क राखिनेछ। आउँदा दिनमा सफ्टवेयरमार्फत कसैले तथ्याङ्क हेर्न चाहेमा र माग गरेमा सहज रूपले उपलब्ध गराउन सकिने छ।