• १३ वैशाख २०८१, बिहिबार

यू-१९ विश्वकप छनोट : नेपाल विश्वकपबाट एक खेल टाढा

blog

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन १६ गते । नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

युएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले हरायो । मलेसियाले दिएको ७३ रनको विजयी लक्ष्य नेपालले नौ ओभरका पूरा गरेको थियो । जितसँगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ ।नेपाल अब विश्वकप छनोटबाट एक खेलमात्र टाढा छ । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । नेपालका लागि ओपनर दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाउनुभयो ।

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेटको क्षतिमा ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउनुभयो । मोहम्मद सायाहिर र मोहम्मद हरिसानले १२/१२ रन बनाउनुभयो । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दीपेश कँडेलले चार विकेट लिनुभयो । आकाश चन्दले तीन, मिलन बोहोराले दुई तथा सुवास भण्डारीले एक विकेट लिनुभयो ।नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपमा छनोटको मुखमा रहेको हो । नेपालले अब अन्तिम खेल बिहीबार आयोजक युएईसँग खेल्नेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । छनोट प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।