• २२ असार २०८१, शनिबार

स्ववियु चुनाव रोकिएपछि आन्दोलन

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन १५ गते । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव स्थगित गरेको सूचना निकालेपछि विभिन्न विद्यार्थी सङ्गठन आन्दोलित भएका छन्।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेको छ तर सुखेपोखरी क्याम्पसले भने चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी सङ्गठनले आन्दोलन सुरु गरेका हुन्। तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै चारवटा विद्यार्थी सङ्गठनले आइतबार बिहान केहीबेर सुखेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। 

नेपाली कांग्रेस निकट नेविसङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) र जसपा नेपाल निकट सङ्घीय समाजवादीमा आबद्ध विद्यार्थीले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन्। अनेरास्ववियु (एस) का क्याम्पस कमिटी अध्यक्ष प्रेमराज दाहालले आफू अनुकूल फर्जी विद्यार्थी भर्ना गर्न नपाउँदा केही व्यक्तिले स्ववियु चुनाव भाँड्न खोजेको बताउनुभएको छ। 

अनेरास्ववियु (एस)का अध्यक्ष दाहालसहित नेविसङ्घ क्याम्पस समितिका सभापति विष्णु मैनाली, अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष गौतम महतो र सङ्घीय समाजवादी क्याम्पस कमिटीकी अध्यक्ष अन्जिता भुजेलले शनिबार नै प्रेस विज्ञप्ति निकालेर विद्यार्थीको नैसर्गिक अधिकारमाथि हनन भएको भन्दै तुरुन्त व्यवस्थापन समितिको निर्णय सच्याई स्ववियु चुनावको वातावरण सिर्जना गर्न माग गर्नुभएको थियो। ती विद्यार्थी सङ्गठन आइतबार सडक आन्दोलनमै उत्रिएका हुन्। 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वासुदेव निरौलाले विद्यार्थी सङ्गठनबीचको कलहका कारण असहज स्थिति सिर्जना भएकाले व्यवस्थापन समितिको बैठकबाट तत्कालका लागि स्ववियु चुनाव रोक्ने निर्णय भएको बताउनुभयो। 

उहाँले विद्यार्थी आन्दोलित भएपछि विद्यार्थी सङ्गठनसहित प्रमुख राजनीतिक दल र अन्य सरोकारवालालाई छलफलमा बोलाई समस्याको निकास निकाल्ने प्रयास भइरहेको बताउनुभएको छ।