• १२ साउन २०८१, शनिबार

सवारी दुर्घटनाको स्थिति चिन्ताजनक

blog

गाईघाट समाचारदाता

गाईघाट, फागुन १५ गते । पछिल्लो समय उदयपुरमा सवारी दुर्घटना बढेको छ। छ महिनायता उदयपुरमा ११९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १९ जनाले ज्यान गुमाएको र १५४ पुरुष, ४३ महिला तथा २० बालबालिका गरी १९९ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँगको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले शनिबार गाईघाटमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।

प्रहरीको तथ्याङ्कअनुसार ९१ वटा दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकलका ७६ वटा रहेका छन्। त्यसैगरी जिप, कार १४ वटा, अटो १३ वटा, बस पाँचवटा, ट्याक्टर तीनवटा, टिप्पर चारवटा र अन्य चारवटा गरी ११९ वटा सवारी दुर्घटना भएको हो। प्रहरीको अनुसन्धानबाट दुर्घटनाको प्रमुख कारण तीव्र गति र सडक समस्या रहेको छ। ४६ वटा सवारी तीव्र गति भएकै कारण दुर्घटना भएका छन्। त्यस्तै सडक समस्याले आठवटा, यात्रुको लापरबाहीले दुईवटा, सवारीमा हुने यान्त्रिक गडबडीले पाँचवटा र उछिनपाछिनका कारण दुर्घटना भएको तथ्याङ्कमा देखाइएको छ।

प्रहरी उपरीक्षक फुयालका अनुसार भौगोलिक हिसाबले त्रियुगा नगरपालिकामा मात्रै ४१ वटा सवारी दुर्घटना भएको छ भने चौदण्डीगढी १८ तथा कटारी र बेलका नपामा १४, उदयपुरगढी गाउँपालिकामा तीनवटा दुर्घटना भएका छन्। त्यस्तै साउनदेखि पुस महिनासम्मको तथ्याङ्कमा सबैभन्दा बढी मदन भण्डारी स्मृति लोकमार्गमा ११ वटा दुर्घटना भएको देखिएको छ। 

जिल्लामा मदन भण्डारी, सगरमाथा र सिद्धिचरण लोकमार्गका सडक रहेका छन्। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सवारी दुर्घटनाको स्थिति डरलाग्दो रहेकाले यसको न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो। ट्राफिक प्रहरीले मात्रै सबै दुर्घटना रोक्न नसक्ने बताउँदै उहाँले सवारीचालक, पैदल यात्री, यातायात व्यवसायी सबै सजग र सचेत हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले रुट इजजातबिना सवारी कुदाउने, रातो नम्बर प्लेट भएका सवारीले समेत नियमित यात्रु बोक्ने, पहाडी क्षेत्रमा बोलेरोले क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या, यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना बढेको बताउनुभयो। 

कार्यक्रममा त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइराला, वडा नं. १३ का वडाध्यक्ष नवीनकुमार चौधरी, यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका निमित्त प्रमुख गोविन्द तिमिल्सिना, हिमाली यातायात व्यवसायी सङ्घका महासचिव उमेश बस्नेतलगायतले दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने बताउनुभएको छ।