जनार्जन खत्री
सर्लाही, फागुन १४ गते । ठेकेदारले अनेक बहानाबाजी गर्दा सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकको निर्माण ठप्पजस्तै बनेको छ। सडकको काम अलपत्र छाडिँदा हावाहुरीको मौसममा स्थानीय बासिन्दा र यात्रु धुलोको मार खेप्न बाध्य भइरहेका छन्।
सर्लाहीखण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी २०७३ सालमै तीनवटा प्याकेजमा ठेक्कामा लगाइएको थियो। ठेक्का लागेको छ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको हो। सडकको केही स्थानमा पहिलो चरणको अलकत्रा हालिए पनि धेरैजसो ठाउँ धुलाम्मे अवस्थामा छ।
सडक कालोपत्रे नहुँदा असाध्य सास्ती खेप्नु परेको बलरा नगरपालिका–३, लक्ष्मीपुरका सीताराम मिश्रले गुनासो गर्नुभयो। मिश्रले भन्नुभयो, “हिजोआज धुलो उडेर हुलाकी सडकमा यात्रा गर्न सक्ने अवस्था छैन, बलरादेखि २८/३० किलोमिटर छिचोलेर मलङ्गवासम्म पुग्न निकै गाह्रो छ। वर्षौंदेखि यो सडक बन्ने आसमा बस्यौँ तर जहिल्यै अपुरो काम गरेर छाड्ने प्रवृत्ति देखियो।”
हुलाकी सडक वरपरको बस्तीका बासिन्दाले सडक निर्माणको काम पूरा गराउन दबाब दिन पटक–पटक आन्दोलन गर्दै आइरहेका छन्। सदरमुकाम मलङ्गवादेखि पूर्वतर्फको खण्डमा सबैभन्दा धेरै समस्या देखिन्छ। मलङ्गवादेखि पूर्व पर्सा गाउँपालिकास्थित हर्दी खोलासम्मको १५ किलोमिटर सडकको हिम्दुङ एन्ड ठोकर हीरा एन्ड नमिता जेभीले ठेक्का लिएको छ। यो खण्डको सडकमा काम हुन नसक्दा धुलोको धेरै समस्या रहेको स्थानीयले गुनासो गरेका छन्।
मलङ्गवादेखि पश्चिम १५ किलोमिटर दुरीमा पर्ने गोडैतास्थित रोहुवासम्म हिन्दुङ एन्ड ठोकर साह निर्माण सेवा र त्यहाँबाट पनि पश्चिम बलरासम्मको १२ किलोमिटर दिवा निर्माण सेवाले ठेक्का लिएको छ। त्यसमध्ये हिम्दुङ एन्ड ठोकर हीरा एन्ड नमिता जेभी र दिवा निर्माण सेवाको चैत मसान्त र हिन्दुङ एन्ड ठोकर साह निर्माण सेवाको वैशाख मसान्तसम्मको सम्झौता थप भएको हुलाकी सडक आयोजना जनकपुरधामले जनाएको छ।
पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र यादव (विस्पत)ले हुलाकी सडकको धुलोको हैरान भएको दुखेसो पोख्नुभयो। गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “मलङ्गवा आउनजान हुलाकी सडकबाहेक अर्को विकल्प छैन। सडकको धुलोले सडक छेउछाउका स्थानीय र यात्रुलाई निकै गाह्रो पारिरहेको छ, धुलोकै कारण बिरामी नै पर्ने अवस्था छ।”
हुलाकी सडक भएर यात्रा गर्दा धुलोले कुरूप भइन्छ। स्वास्थ्यमा पनि उत्तिकै असर पु¥याइरहेको स्थानीय गुनासो गर्छन्। कुहिरीमण्डल भएर धुलो उड्दा हुलाकी सडकको यात्रा निकै असुरक्षित रहेको छ। कुनै सवारी दौडिँदा अगाडि, पछाडिको दृश्य नै नदेखिने गरी धुलो उड्छ।
कौडेना गाउँपालिकाका अध्यक्ष रूपेशकुमार यादव (बब्लु)ले हुलाकी सडक निर्माणका लागि बारम्बार दबाब दिए पनि प्रगति हुन नसकेको गुनासो गर्नुभयो। सडकको निर्माण कार्यलाई गति दिन भन्दै जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, ठेकेदार, सुरक्षा प्रमुख र अन्य सरोकारवालाबीच पटक–पटक छलफल भइरहन्छ।
हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले निर्माण सामग्री सहज रूपमा उपलब्ध नभएको र उपलब्ध पनि अत्यन्त महँगो भएकाले निर्माणलाई गति दिन नसकिएको बताउनुभयो। महतोले भन्नुभयो, “निर्माण सामग्री अझँै अभाव नै छ, ठेक्का नलागेका कारण धेरै ठाउँमा गिट्टी, बालुवा निकाल्न नपाएको भन्ने गुनासो ठेकेदारबाट आइरहेको छ। हामीले त सडक निर्माणलाई गति दिन ताकेता गरिरहेका छौँ।”
सडक खाली गराउँदा पर्सा बजार र भेल्ही बजारमा उच्च अदालतबाट ‘स्टेअर्डर’ आएपछि काम गर्न समस्या भएको उहाँले बताउनुभयो। हुलाकी सडक प्रमुख महतोले अब बल्ल कालोपत्रेका लागि तापक्रम पनि अनुकुल हुँदै गएकाले ठेकेदारलाई काममा घच्घच्याउने बताउनुभएको छ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले अभाव र महँगीको बहानाबाजी गरेर अब पनि निर्माणमा ढिलासुस्ती गर्ने छुट नरहेको बताउनुभएको छ। केही समयअघि यहाँका क्रसर उद्योग बन्द गराउँदा ठेकेदारले निर्माण सामग्री अभाव रहेको गुनासो गरेको तर अहिले सम्पूर्ण क्रसर खुलिसकेकाले निर्माण सामग्रीको अभाव नरहेको सिंहले दाबी गर्नुभयो।
“अब त कुनै बहानाबाजी सहदैनौँ, यो आर्थिक वर्षभित्र पनि काम नभए ठेक्का तोडेर ठेकेदारलाई कालोसूचीमा हाल्छौँ,” जिसस प्रमुख सिंहले भन्नुभयो।