धनगढी समाचारदाता
धनगढी, फागुन १२ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको छ लेन सडकको करिब ६.५ किलोमिटरमा स्मार्ट सडक बत्ती जडान गरिएको छ। स्मार्ट सडक बत्ती जडानले सडक झिलिमिली हुनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। सो सडक बत्तीको महसुल धनगढी उपमहानगरपालिकाले तिर्ने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधबार साँझ स्मार्ट सडक बत्तीको उद्घाटन गर्नुभएको थियो। वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडान गरिएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार नेपाल विद्युत् प्राधिरण, राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो। धनगढी उपमहानगरपालिकाको उद्देश्य १९ वटै वडालाई उज्यालो बनाउने रहेको छ। उहाँले भन्नुभयो, “छ लेन सडक अत्यन्त महत्वपूर्ण सडक हो। त्यसैले पहिलो प्राथमिकतामा राखेर यसमा स्मार्ट बत्ती जडान ग-यौँ। तर हाम्रो उद्देश्य सबै वडालाई उज्यालो बनाउनु हो।”
धनगढी उमपहानगरपालिकाको कार्यालयका अनुसार उज्यालो धनगढी कार्यक्रमअन्तर्गत पहिलो चरणमा २१२ पोलमा ४३२ वटा बत्ती जडान गरिएको छ। दुई करोड ७० लाख रुपियाँ खर्चेर सडक बत्ती जडान गरिएको हो। जसमा एक करोड ६१ लाख (६० प्रतिशत) धनगढी उपमहानगरपालिका र एक करोड सात लाख (४० प्रतिशत) रुपियाँ परियोजनाले बेहोरेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो। पहिलो चरणमै ६५ लाख रुपियाँ लागतमा १० वटा हाइमास्ट लाइट पनि जडान गरिने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत मोहना–अत्तरिया छ लेन सडकको बाँकी रहेको क्षेत्र चौराहादेखि भन्सार र एयरपोर्ट गेटदेखि गोदावरी नगरपालिकाको सिमानासम्म स्मार्ट सडक बत्ती जडान गर्नेछौँ।”
यसअघि माघ अन्तिमबाटै बत्ती बल्ने गरी काम अघि बढाइए पनि पहिले जडान गरिएको बत्ती कम वाटको भएपछि त्यो परिवर्तन गरिएको थियो। सेन्सर जडित स्मार्ट सडक बत्ती साँझ परेपछि आफैँ बल्ने र बिहान घाम झुल्केपछि आफैँ निभ्ने जनाइएको छ। सूर्योदय ऊर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडान गरेको हो।