छिन्चु समाचारदाता
सुर्खेत, फागुन ११ गते । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ। उत्पादित आयुर्वेदिक औषधि कर्णाली जिल्लाका आयुर्वेदिक संस्थाबाट निःशुल्क वितरण गरिँदै आएको छ। सो अनुसन्धान केन्द्रले कृषकबाट जडीबुटीसमेत खरिद गर्दै आएको छ। केन्द्रले ग्यास्टिक, पेटको रोग, बाथलगायतका औषधि २०७७ सालबाटै उत्पादन गर्दै आएको छ। औषधि उत्पादनका लागि केन्द्रलाई कर्णाली प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ। प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शङ्कर रिजालका अनुसार वार्षिक १० देखि १५ लाखसम्म बजेट केन्द्रलाई प्राप्त हुँदैआएको छ।
उहाँका अनुसार कर्णालीका किसानबाट जडीबुटी किनेर औषधि उत्पादन भइरहेको छ। कर्णालीमा उपलब्ध नहुने जडीबुटी नेपालगञ्ज, काठमाडौँ र भारतबाट ल्याएर औषधि उत्पादन गरिँदै आएको छ। यस पटक प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई प्रदेश सरकारले सात लाख रुपियाँ दिएको छ। डा. रिजालका अनुसार स्रोत साधन पर्याप्त नहुँदा कम औषधि उत्पादन भइरहेको छ। बजेट र जनशक्ति पर्याप्त भए आयुर्वेद औषधिको बजारीकरण गर्न सकिन्छ। औषधि उत्पादनका लागि कार्यालयकै जनशक्ति प्रयोग भइरहेको छ। आवश्यक स्रोत र जनशक्ति भए देशबाहिर पनि औषधि पठाउन सकिने केन्द्रका प्रमुख डा. रिजालले बताउनुभयो।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा दैनिक एक सय बिरामीले उपचार सेवा लिइरहेका छन्। सो अस्पतालले हाल ओपीडी सेवासहित ४४ प्रकारका आयुर्वेद औषधि निःशुल्क वितरण गर्दै आएको छ। अस्पतालमा प्रयोगशाला सेवा, क्षारसुत्र सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा बिहानी तथा दिवा सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क स्तन्यवद्र्र्धक औषधि वितरण सेवा, स्वास्थ्य जीवनशैली व्यवस्थापन, दैनिक योग ध्यान, जनचेतनामूलक कार्यक्रम तथा आयुर्वेद, जडीबुटीसम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्स–रे सेवा, भिडियो एक्स–रे, सःशुल्क फार्मेसी सेवा सञ्चालन, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवालगायत १५ प्रकारका सेवा दिइरहेको छ। केन्द्रका अनुसार अविपत्तिकर चूर्ण, हिंवास्टक चूर्ण, आमलागि चूर्ण, सिनोपलादि चूर्ण, अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, त्रिफला चूर्ण, अतृ चिया, पिडाहर तेल, पित्तहर, च्यवनप्राश गरेर जम्मा ११ प्रकारका औषधि उत्पादन हुने गरेको छ।