• ९ वैशाख २०८२, मङ्गलबार

शिक्षामा बजेट बढाउने प्रतिबद्धता

blog

कैलाली समाचारदाता

धनगढी, फागुन ११ गते । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्न विशेष पहल गरिने बताउनुभएको छ।

मन्त्री देउवाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा बुधबार धनगढीमा आयोजित प्रदेशस्तरीय ‘प्रदेशमा नयाँ सरकार : शिक्षालाई प्राथमिकता कति ?’ छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले शिक्षालाई रोजगारीमूलक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन सार्वजनिक शिक्षामा सुधार ल्याउनु पर्ने बताउनुभयो। शिक्षामा सुधार ल्याउन शिक्षक, अभिभावक, विद्यार्थी र विज्ञसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले प्रदेश सरकारले पूर्णता पाउन बाँकी रहेको चर्चा गर्दै टुक्रे योजनासमेत नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कतिपय अधिकार सङ्घ सरकारले नदिँदा समस्या भएको आरोपसमेत लगाउनुभयो।

कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षालाई प्रभावकारी बनाउन पढाइलाई प्रविधिमैत्री बनाउनुपर्ने, बालबालिकाको अनिवार्य बचत गराउनुपर्ने, प्रतिभाको खोजी गरेर सहयोग गर्नुपर्ने र शिक्षकका सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो। 

उहाँले सहरी क्षेत्रमा ६० र ग्रामीण क्षेत्रमा ३० प्रतिशत विद्यार्थी निजी क्षेत्रका विद्यालयमा भर्ना भएको चर्चा गर्दै यो डरलाग्दो तथ्याङ्कले पनि सामुदायिक शिक्षा प्रणाली सुधार गर्नुको विकल्प नरहेकोमा जोड दिनुभयो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रदेश संयोजक हेमराज जोशी, प्रदेश सभा सदस्य शिव ओली, प्रदेश सरकारका पूर्वमन्त्री पूर्णा जोशीले शिक्षा सुधारका लागि सुझाव दिनुभएको थियो। यसैबीच शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले हेमराज जोशीकै संयोजकत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ।