लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ११ गते । मधेश प्रदेशको राजधानी बनेपछि जनकपुरधामका साँघुरा सडक फराकिला भए। जानकी मन्दिरमा टायल्स मार्बल र रङ्गीचङ्गी महङ्गा बत्ती जडान गरियो। पोखरीका घाट निर्माण गरी त्यहाँ पनि टायल्स मार्बल लगाइयो तर जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापन भने जहाँको त्यही छ। फोहोर फ्याँक्ने स्थानको व्यवस्था भएपछि दैनिक रूपमा फोहोर उठ्न थालेको छ तर पनि जनकपुरधाम दुर्गन्धित नै छ।
जानकी मन्दिर, राम मन्दिर, गङ्गासागरका महागङ्गा आरती र जनकपुरधामका अन्य पोखरी पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बनेका छन् तर यी स्थानहरूको दर्शन गर्न आउने पर्यटक बास बस्न रुचाउँदैनन्। जानकी मन्दिर दर्शन गरेर महोत्तरी जिल्लास्थित बर्दिबासमा गएर बास बस्ने गर्छन्। पर्यटक भन्छन्। यहाँको फोहर व्यवस्थापन नहुँदा बस्न लायक सहर नबनेको पर्यटकको गुनासो छ।
जनकपुरधामलाई सफा र सुन्दर बनाउन पटकपटक छलफल पनि भएका छन्। व्यवस्थापनका लागि कैयौँ पटक पहल पनि गरिएको छ तर पनि यी समस्याबाट जनकपुरधाम मुक्त हुन सकेको छैन। जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साहले आफू निर्वाचित भएपछि जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरी बनाउन छिटो छरिटो काम गर्दै आएको बताउनुभयो। उपमहानगरले फोहोर व्यवस्थापनका लागि स्थान, वडाले आफ्नो वडाभित्रका फोहोर वडाले नै उठाउने गरी ट्रयाक्टरसहित सफाइ कर्मचारीसमेत उपलब्ध गराएको छ।
उपमहानगरले धार्मिक पर्यटकीय नगरी बनाउन पटकपटक सरसफाइ, फुटपाथमा खाली गराउने, ट्राफिक व्यवस्थापन, छाडा चौपाया व्यवस्थापनमा ध्यान दिँदै आएका छन्। नगरका जनप्रतिनिधिहरू आफ्नो क्षेत्र सफा बनाउन सम्पूर्ण नागरिक लागि पर्नुपर्ने बताउनुहुन्छ।
बजार क्षेत्रभन्दा बाहिर निस्कने बित्तिकै आधा बाटो भवन निर्माणका समाग्री वा फोहोरले भरिएका हुन्छन्। खुला स्थान फोहोरको थुप्रोले भरिएको हुन्छ। त्यही फोहोर गन्हाएर बसिनसक्नु हुन्छ जनकपुरधाम–८ का अनिताकुमारी सिन्हा भन्नुहुन्छ। उहाँको घर वरिपरि खाली ठाउँ छ। त्यस ठाउँमा वरपरका सबैले घरबाट निस्केका गल्ने नगल्ने सबै खालका फोहोर त्यही खाली जमिनमा फ्याँक्ने गरेका छन्।
नगरवासी भने वडाले दैनिक फोहोर सङ्कलन नगरेको बताउँछन्। उपमहानगरसँग अहिले फोहोर व्यवस्थापनका लागि ११ वटा ट्याक्टर, आठवटा टिप्पर, चारवटा म्याजिक, दुईवटा पानी ट्याङ्की, दुईवटा जेसीबी र एकवटा ब्रुमर रहेको छ। भर्खर मात्र उपमहानगरपालिकाले १३० थान डस्टबिन वितरण गरेको जानकारी उपमहानगरका जिन्सी प्रमुख गणेशप्रसाद यादवले दिनुभयो।
उपमहागनरपालिकाका सरसफाइ विभागका कर्मचारी श्याम ठाकुरले भन्नुभयो, ‘‘दिनको दुई पटक फोहोर उठाउँदा दिउँसो २ बज्छ। फोहोर व्यवस्थापनमा स्थानीयले सहयोग गरे केही सहज हुने थियो।” उहाँका अनुसार उपमहानगरले वितरण गरेको डस्टबिन अलपत्र परेका हुन्छन्। ‘‘फोहोर हामीले भुइँबाट उठाउनुपर्छ। त्यहि फोहोर डस्टबिनबाट उठाउनुपर्ने भए केही सहज हुने थियो,” उहाँ भन्नुहुन्छ। पोखरीका डिल, चोक, बाटोको छेउछाउ डस्टबिन केही अलपत्र छन् भने केही फुटाइएका छन्।
जाडो मौसममा त्यति गन्हाउँदैन तर अब गर्मी लाग्न थाल्यो। गर्मीमा यो जमेको पानीमाथि फालिएको फोहोर थुप्रो त्यसमाथि गाईबस्तु र सुँगुरहरू फालिएका खानेकुरा खोज्न आउँछन्। ती गाईबस्तु चर्दा फोहोर गन्हाएर बसिनसक्नु हुन्छ। बिहान उठ्ने बितिक्कै डुङ्डुङ्गती फोहोर गन्हाउँछ।