• ४ पुस २०८१, बिहिबार

गैरकानुनी रूपमा एम्बुलेन्स खरिद–बिक्री

blog

विजयकुमार साह 

ढल्केबर, फागुन ११ गते । धनुषामा गैरकानुनी ढङ्गले एम्बुलेन्स खरिद–बिक्री र ठेक्कामा लगाउने कारोबार फस्टाएको छ। यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन्। राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्स मासिक १० देखि ३० हजार रुपियाँमा भाडामा लगाएका छन् भने १० देखि १६ लाख रुपियाँमा खरिद–बिक्री हुने गरेको बताइएको छ। 

नेपाल सरकारद्वारा भन्सार छुट तथा पूर्ण अनुदानमा प्राप्त एम्बुलेन्स खरिद–बिक्री र ठेक्कामा लगाउन पाइँदैन। घाइते वा बिरामीलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका एम्बुलेन्स तोकिएको ठाउँभन्दा बाहिर चलाउन नपाइने नियम राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा उल्लेख छ। 

जिल्लाको बटेश्वर गाउँपालिका बटेश्वरस्थित मानव कल्याण संस्थाको नाउँमा रहेको ज. १ च. १७२० नम्बरको एम्बुलेन्स जनकपुरको रजौल घरका भएका मनोज यादवलाई १३ लाख रुपियाँमा बिक्री गरिएको छ। एम्बुलेन्स चालकसमेत रहेका यादवले खरिद नगरी मासिक भाडामा एम्बुलेन्स चलाइरहेको स्वीकार गर्नुभयो। 

नेपाल शिक्षक सङ्घ धनुषाको नाउँमा रहेको ज. १ च. १२२७ नम्बरको एम्बुलेन्स जनकपुरकै महेश दासलाई मासिक २५ हजार रुपियाँ भाडामा दिइएको छ। यता दासले आफू आफ्नै एम्बुलेन्स चलाइरहेको प्रतिक्रिया दिनुभयो। उहाँले चिनजानका एक साथीको सम्पर्कमा दुई–तीनवटा एम्बुलेन्स बिक्रीमा रहेको बताउँदै खरिद–बिक्रीका लागि उहाँसँगै सम्पर्क गर्नुपर्ने भन्नुभयो। 

सम्बन्धित निकायले अनुगमन तथा कारबाही चलाउन सक्रियता नदेखाएका कारण यहाँका विभिन्न सङ्घसंस्थाले राजस्व छुट तथा भारतीय दूतावासलगायत अन्य निकायबाट सहयोगमा पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कमा लगाउने गरेको एक एम्बुलेन्स चालकले नै बताउनुभयो। 

उहाँका अनुसार जनकपुरधामबाट सञ्चालित ८० प्रतिशत एम्बुलेन्स बिक्री र भाडाकै छ। अर्को कुरा जुन ठाउँबाट सेवा प्रदान गर्ने भनेर एम्बुलेन्स ल्याइएको हुन्छ त्यही ठाउँमा राख्नुपर्छ तर यहाँ भित्री ग्रामीण क्षेत्रको सङ्घसंस्थाको नाउँमा सञ्चालित एम्बुलेन्स जनकपुरधामस्थित प्रादेशिक अस्पताल नजिक र बारहबिघा मैदानमा राखिएको हुन्छ। जसले गर्दा भित्री ग्रामीण क्षेत्रका घाइते तथा बिरामी एम्बुलेन्स सुविधाबाट बञ्चितसमेत हुँदै आएको छ, ति एम्बुलेन्स चालकले भन्नुभयो। 

अनुदान छुट तथा सहयोगमा प्राप्त एम्बुलेन्स कानुनी रूपमा खरिद–बिक्री गर्न नपाउने नियम रहेकाले मौखिक रूपमै भाडा र खरिद–बिक्री हुने गरेको अर्का एम्बुलेन्स चालकले बताउनुभयो। एम्बुलेन्स चालक सङ्घ धनुषाका अध्यक्ष अरमान साहले यस जिल्लाबाट ९९ वटा एम्बुलेन्स सञ्चालनमा रहेको बताउनुभयो। भाडा र बिक्रीको एम्बुलेन्स सञ्चालनमा रहेको बारे आफूलाई थाहा नभएको बताउँदै उहाँले त्यस्तो भएको प्रमाण पेस गरेको खण्डमा कारबाहीका लागि सिफारिस गरिने जानकारी दिनुभयो। 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यस विषयमा अनुसन्धान गरिने बताउनुभयो।  जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उहाँले आफू केही दिनअघि मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको बताउनुहुँदै गैर कानुनी तवरले एम्बुलेन्स खरिद–बिक्री भएको पाइए कानुनबमोजिम कारबाही प्रक्रिया चलाउने जानकारी दिनुभयो।