• १३ साउन २०८१, आइतबार

‘पर्यापर्यटनलाई प्राथमिकता’

blog

काठमाडौँ, फागुन ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थलहरूको पहिचान गरी व्यवस्थित रूपबाट संरक्षण र प्रवद्र्धन गरी पर्यापर्यटनको माध्यमबाट स्थानीय जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभएको छ। 

पर्वतको जलजला गाउँपालिका–२ पूर्णस्थित वराह तालमा निर्माण गरिएको आदिवराह कुलमन्दिरको बुधबार उद्घाटनपछि उहाँले प्रशस्त सम्भावना भएका ऐतिहासिक धार्मिक मठमन्दिर र सांस्कृतिक महìवका स्थललाई पहिचान गरी प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो। 

जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरण माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताका माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवं रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो। 

जलजलाको जैविक विविधतायुक्त कालन्जर पहाड, जलजला क्षेत्र, फलामे डाँडा, मल्लाज दरबारलगायत पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरूको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। प्रसिद्ध वराह ताल संरक्षणका लागि स्थानीयस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिनुभयो। 

साथै राष्ट्रपति भण्डारीले धार्मिक एवं पौराणिक महत्वको क्षेत्र हम्पाल कालन्जरलाई हेलिकोप्टरबाट अवलोकन गर्नुभयो। उक्त कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गाउँपालिकाका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको विकासका माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।  

यसैबीच राष्ट्रपति भण्डारीले बागलुङ कालीका भगवती मन्दिरमा पूजा गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोही दिन बिहान बागलुङ आउनुभएका राष्ट्रपति भण्डारीले करिब आधा घण्टा मन्दिरमा पूजा गर्नुभएको थियो। उहाँले करिब एक घण्टा मन्दिर परिसरमा बिताउनुभयो। 

राष्ट्रपति भण्डारीको पूजामा कालीका भगवती मन्दिरका मुख्य पुजारी र नेपाली सेनाका पुजारीले सहयोग गर्नुभएको थियो। उहाँको साथमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि मन्दिर पुग्नुभएको थियो। बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालीका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि राष्ट्रपति बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो। राष्ट्रपति भण्डारीलाई कालीका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेश सभा सदस्यहरू कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गर्नुभएको थियो।

राष्ट्रपति भण्डारीले कालीकाको विशेष पूजापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहण गर्नुभयो। उहाँ हिँडेर मन्दिर पुग्नुभएको थियो। राष्ट्रपति भण्डारी सवारी हुँदा अन्य भक्तजनको आवागमनमा कुनै रोकटोक थिएन। 

कालीका भगवती मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले कालीका मन्दिरको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्न आग्रह गर्नुभयो। राष्ट्रपति भण्डारीले विशेष आगन्तुक पुस्तिकामा “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालीका भगवतीको दर्शन गर्ने सुअवसर प्राप्त भएकोमा म साह्र्रै हर्षित छु, यो अवसर जुटाउने कालीका भगवती गुठीका संरक्षक तथा पदाधिकारीहरू, कर्मचारी एवं नागरिक समाजलाई विशेष धन्यवाद दिन चाहन्छु”, लेख्नुभएको छ।

­(ठाकुरप्रसाद आचार्य/गणेश पौडेल/नवीन शिशिर विकको सहयोगमा)