• ११ मंसिर २०८१, मङ्गलबार

मायादेवी मन्दिरमा फेरियो : गजुर

blog

नयाँ गजुरपछि मायादेवी मन्दिर । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन ९ गते। लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखेको हो। गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ। 

मङ्गलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ। यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो। स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब तीन महिना लगाएर तयार पारिएको शाक्यले बताउनुभयो। गजुरको बाहिरपट्टिको भागमा सुनको जलप लगाइएको छ। 


यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो। बाँदरले हल्लाउँदा ढल्कने, पार्टपुर्जा खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रति कोषका सदस्यसचिव शाक्यले धन्यवाद दिनुभयो। गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को  कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ। 

मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगरस्थित बिहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीवृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले जानकारी दिनुभयो। आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो।