काठमाडौं, फागुन ९ गते। चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विस्तार गर्न दुई पक्षबीच सम्झौता भएको हो।
नवलपरासी (पश्चिम) जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सामान्य बिरामी हुँदा समेत यहाँका बासिन्दालाई उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रूपमा विकास गर्न पहल लिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। चुनावी प्रतिबद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गर्न लागिएको हो। चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपत्कालीन र अन्य सेवा सुनिश्चित गरिनेछ। सात वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्। जसबाट बिरामीले स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा पाउनेछन्।
अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिने र २४ सैं घण्टा आपत्कालीन सेवाको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ। यसैगरी ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्बु (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी चार वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ। अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ।
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ। सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियौँ। अब त्यसले साकार रूप लिन लागेको छ। आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टीकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु।’
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) पवन अग्रहरीले विनोद चौधरी सांसद निर्वाचित भएपछि विकासका काम अगाडि बढेको बताउनुभयो। उहाँले चौधरी बोल्नेभन्दा काम गर्ने नेता भएको बताउनुभयो।